युभेन्टस्का लागि रोनाल्डोको गोल

315
views

काठमाडौं, १, असोज । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले नयाँ क्लव युभेन्टस्का लागि चौथो खेलमा बल्ल गोलको खाता खोलेका छन् ।

यसअघिका तीन खेलमा गोल गर्न नसकेका रोनाल्डोले गएराति सासुओलोविरुद्ध २ गोल गरे । यसै सिजनको सुरुमा स्पेनिस क्लव रियाल मड्रिडबाट युभेन्टस् आएका रोनाल्डोकै गोलको मद्दतमा युभेन्टसले सासुओलोलाई २–१ ले हराउँदै लिगमा लगातार चौथो जित निकालेको छ ।

ईटालियन लिग अर्थात सिरी एका अन्य खेलमा लाजियो र जेनोआ विजयी भएका छन् । एसी मिलानले काग्लीआरीसँग १–१ गोलको बराबरी खेल्दा एएस रोमालाई चिएभो भेरोनाले २–२ गोलको बराबरीमा रोकेको छ ।

गएरातिका खेलपछि ईटालियन सिरी एमा ४ खेलबाट १२ अंक जोडेको युभेन्टस शीर्ष स्थानमा छ । समान खेलबाट ९ अंक जोडेको नापोली दोस्रो स्थानमा छ भने तेस्रो स्थानको सासुओलोको ७ अंक छ ।