अमेरिका र क्युबाबीचको सम्बन्धमा ह्रास आयो– क्युबाली राष्ट्रपति

707
views

हवाना, १ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकालमा क्युबा र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा ह्रास आएको क्युबाका राष्ट्रपति मिगेल डायाज–कनेलले बताउनुभएको छ ।

“दुई देशबीचको सम्बन्धमा आज ह्रास आएको छ । हामीले अझै पनि संवादको पहल जारी राखेका छौं र हामीले कुनै पनि बखत संवादको सम्भावनालाई खारेज गरेका छैनौं, तर यो समानताका आधारमा हुनु पर्दछ,” डायाज कनेलले टेलिसुर टेलिभिजन च्यानलमा अन्तर्वार्ता दिँदै बताउनुभयो । कार्यकाल सम्हालेयता यस वर्ष उहाँको यो नै पहिलो अन्तर्वार्ता हो ।

अमेरिकी राष्ट्रपतिका रुपमा ट्रम्प विजयी भएसँगै पूर्व राष्ट्रपति बाराक ओबामाले शुरु गर्नुभएको ऐतिहासिक कुटनीतिक संवादमा कमी भइरहेको छ ।

डायाज–कनेलले क्युबामाथि अमेरिकी आर्थिक प्रतिबन्ध नाजायज रहेको बताउँदै अमेरिकी प्रतिबन्ध नै मुलुकको विकासका लागि मुख्य बाधक रहेको उल्लेख गर्नुभयो ।

उहाँले अमेरिकी कुटनीतिज्ञलाई प्रभावित तुल्याउने गरी भएको रहस्यमय “स्वास्थ्य आक्रमण” मा क्युबाको कुनै भूमिका नरहेको बताउँदै भन्नुभयो ः “हामीले कसैलाई पनि आक्रमण गरेका छैनौं ।”

स्वास्थ्य आक्रमणबाट पीडित भएका कुटनीतिज्ञहरुमा मस्तिष्कमा घाउचोट देखिएको र सुन्ने क्षमता कमजोर भएको पाइएको छ ।

सोही अन्तर्वार्तामा डायाज–केनेलले समलिङ्गी बिबाहलाई मान्यता दिन आफू तत्पर रहेको बताउनुभयो । डायाज–केनेलले वर्षौंदेखि सत्ता चलाइरहेका क्यास्ट्रो परिवारको हातबाट गत अप्रिलदेखि राष्ट्रपतिको कार्यभार लिनुभएको थियो ।