नेपाल र भुटान भारतको साथ छाडेर चीनतर्फ जानसक्दैनन्– भारतीय सेनाप्रमुख

919
views

काठमाडौँ– भारतीय स्थल सेना प्रमुख बिपिन रावतले नेपाल र भुटान भारतको साथ छोडेर चीनतर्फ जान नसक्ने बताएका छन् । बिम्स्टेक सदस्य राष्ट्रहरुको संयुक्त सैन्य अभ्यास कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै सेनाप्रमुख रावतले नेपाल र भुटान भारतको साथ छोडेर चीनतर्फ जान नसक्ने भारतीय सञ्चार माध्यम प्रेस ट्रष्ट अफ इन्डियाले लेखेको छ ।

‘नेपाल र भुटान जस्ता भूपरिवेष्ठित राष्ट्रलाई भौगोलिक अवस्थितिका कारण भारततर्फ ढल्किनुको विकल्प छैन ।’, रावतले भने, ‘हाल देखिएको नेपालको चीनतर्फको झुकाव क्षणिक अवधिका लागि मात्रै हो ।’

यही भदौ २५ देखि ३१ सम्म सञ्चालन भएको अभ्यास कार्यक्रममा नेपाल सहभागी नभएको विषयलाई भारतीय सञ्चार माध्यमले नेपालमा चिनियाँ प्रभाव विस्तारको रुपमा व्याख्या गरेका थिए ।

बिम्स्टेकको क्षेत्राधिकारको विषयभन्दा बाहिर रहेको सैन्य अभ्यास कार्यक्रममा सहभागी हुँदा नेपालको असंलग्न परराष्ट्र नीतिमा आघात पुग्ने भन्दै विभिन्न तप्काको दबावका कारण सरकारले सैन्य अभ्यासबाट नाम फिर्ता लिएको थियो । नेपालले संयुक्त राष्ट्रसंघ बाहेक अन्य मुलकसँग द्विपक्षिय सैन्य अभ्यास मात्रै गर्दै आएको छ ।

नेपाली सेनाले चिनियाँ सेनासँग दोस्रो ‘सगरमाथा फे्रन्डसिप’ सैन्य अभ्यास कार्यक्रम सोमबारदेखि सुरु गरेको छ । सोका लागि नेपाली सेना चीनको सिचुवान प्रान्तको छेन्दु सहर प्रस्थान गरिसकेको छ । कुल १२ दिनसम्म चल्ने अभ्यास कार्यक्रममा नेपालका १६ सैन्य अधिकारी सहभागी हुँदै छन् ।