लाइसेन्स वितरणमा ढिलासुस्ती

1198
views

काठमाडौँ, २ असोज । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाईका लागि निजी क्षेत्रलाई दिने भनिएपनि अझै टुङ्गो लाग्न सकेको छैन ।

यातायात व्यवस्था विभागले माग अनुसार लाइसेन्स वितरण गर्न नसकेर पाँच लाख ८० हजार लाइसेन्स छाप्न बाँकी रहेकाले कम्पनीलाई छपाईका लागि दिन लागिएको हो ।

निजी कम्पनीलाई छाप्न दिने निर्णयको लागि प्रस्ताव मन्त्रिपरिषद्मा प्रस्तुत भएको छ । तर मन्त्रिपरिषद्ले निर्णय गरिनसकेको विभागले जनाएको छ । जसका कारण लाइसेन्स कुरिरहेका पाँच लाख ८० हजार जनाले अझै कति समय कुनुपर्ने हो अनिश्चित छ । विभागले स्मार्ट लाइसेन्स लागू गरेपछि माग अनुसारको लाइसेन्स आपूर्ति गर्न सकिएको छैन । परीक्षा उत्तीर्ण गरेको डेढ वर्षसम्म पनि सेवाग्राही लाइसेन्स पाउन सकिरहेका छैनन् ।

विभागले हाल एक दिनमा करिब एकहजार दुई सयप्रति लाइसेन्स छाप्छ । दैनिक माग चार हजार छ । एक दिनमा दुई हजार आठसय लाइसेन्स थप छाप्न बाँकी रहँदै आएको छ । एक महिनामा त्यसरी छाप्न बाँकी लाइसेन्सको सङ्ख्या ८४ हजार हुन्छ । हरेक महिना ८४ हजार लाइसेन्स छाप्न थप बाँकी रहदै आएको छ ।
विभागले पुरानो छपाई मेसिन बिग्रेर थन्क्याइ सकेको छ । नयाँ चारवटा मेसिन ल्याएको चार महिना हुन लाग्यो अहिलेसम्म सञ्चालन हुन सकेको छैन् ।

विभागका अनुसार मेसिनमा प्राविधिक समस्या आएकाले क्षमता अनुसार काम भएको छैन । मेसिन सप्लायर्स मन्द्रास प्रिन्टिङ प्रेसले मेसिन सेटिङको काम गरेको महिना भइसक्यो । नयाँ मेसिनले काम गर्न नसक्नु र पुराना बिग्रिएर थन्काइनुले काम बाँकी थप भइरहेको छ ।

नयाँ मेसिन पूर्ण रूपमा चले पनि दैनिक मागलाई धान्न सक्ने अवस्थमाा विभाग नभएको जनाइएको छ । थप मेसिन खरिद गर्ने योजनामा विभाग छैन । विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायका अनुसार दुईदेखि तीन महिनामा पुरै बाँकी काम सक्ने गरी निजी कम्पनीलाई छाप्न दिने व्यवस्था मिलाउन लागिएको छ । अबको दुई तीन महिनामा समस्याको समाधान हुने उहाँले बताउनुभयो ।