रूसी विमानमाथि सिरियाली आक्रमण हुँदा १५ जनाको मृत्यु

987
views

असोज २ गते । सिरियालाई गृहयुद्धमा सहयोग गर्दै आएको रुसी विमानमाथि नै सिरियाले आक्रमण गरेको छ । रूसी जासुसी विमानलाई सिरियाली क्षेप्यास्त्रद्वारा भूमध्यसागरीय क्षेत्रमा खासालिएको रूसी रक्षामन्त्रालयले मङ्गलबार जनाएको हो ।

उक्त आक्रमणबाट विमानमा यात्रारत १५ जना सबैको मृत्यु भएको रूसको दावी छ। रूसले विमान आक्रमणमा इजरायललाई दोष लगाएको छ ।

सिरियाको उत्तरपश्चिमी क्षेत्रमा इजरायली लडाकूसँग भएको दोहोरो झडपका क्रममा क्षेप्यास्त्र विमानमा लागेपछि जमिनमा खसेको र चालक दलका सदस्यसहित सबैजनाको मृत्यु भएको रूसी रक्षामन्त्रालयले मंगलबार पुष्टि गरेको छ ।

रूसी सेनाले दिएको जानकारी अनुसार सोमबार राति आफ्नो जासुसी विमान आइएल–२० लाई रूसी हवाई अखडामा फर्किरहेका बेला सामुद्रिक सतहदेखि ३५ किलोमिटर टाढा आक्रमण गरिएको हो ।

इजरायली चालकले रूसी विमानलाई ढालका रूपमा प्रयोग गर्दै आक्रमणको निशाना बनाउन सफल भएको रूसी रक्षामन्त्रालयका प्रवक्ता मेजर जनरल आइगोर कोनासेनकोभद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

रूसी रक्षामन्त्री सर्गेइ सोइगुले आफ्ना इजरायली समकक्षी अभिगडोर लाइबरम्यानलाई मङ्गलबार फोन गरी घटनामा पूर्णतया इजरायल दोषी रहेको बताए । तर इजरायली सैनिक तथा विदेश मन्त्रालयले विमान आक्रमणबारे रूसी दावीको खण्डन गरेका छन् ।

रूसले विमानको भग्नावशेष र केही मृत शरीरलाई समुद्रबाट बाहिर ल्याइसकिएको बताएको छ । यसअघि विमानमा फ्रान्सले आक्रमण गरेको हुनसक्ने रुसले आशंका गरेको थियो। अमेरिकाले विज्ञप्ती जारीगर्दै घटनामा आफ्नो संलग्नता नभएको जनाएको थियो ।