मन्त्रालयमाथि प्रधानमन्त्री कार्यालयको अनुगमन सुरु

815
views

काठमाडौं, ३ असोज ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरूले आफ्नो कार्ययोजनाअनुसार कति काम गरे भन्नेबारे अनुगमन सुरु गरेको छ । प्रधानमन्त्री कार्यालयको अनुगमन महाशाखाले मंगलबार अनुगमनका लागि तयार गरिएको सफ्टवेयरमा मन्त्रालयहरूले प्रगति विवरण किन पेस गरेनन् भन्ने शीर्षकमा अनुगमन गरेको हो ।

अनलाइन मनिटरिङका लागि प्रधानमन्त्रीको कार्यालयले सफ्टवेयर बनाएर त्यसमा मन्त्रालयले कार्ययोजनाअनुसार गरेका कामको विवरण अपडेट गर्न भनेको थियो । तर, केही मन्त्रालयलाई सफ्टवेयरमा कसरी प्रगति विवरण अपडेट गर्ने भन्ने अन्योल देखिएकाले सहजीकरणका लागि गएको प्रधानमन्त्री कार्यालयस्थित अनुगमन महाशाखाका सहसचिव यमलाल भुसालले बताए ।

उनले सरकारको नीति र बजेटका आधारमा मन्त्रालयले पेस गरेको कार्ययोजनाअनुसार कति काम भइरहेको छ भन्ने विषय अब अनलाइनबाटै अनुगमन हुने बताए । त्यसक्रममा विवरण अनलाइनमा अपडेट गर्न केही मन्त्रालयलाई अन्योल देखिएपछि मन्त्रालयमै गएर सिकाइएको उनले बताए । अनलाइन अनुगमन प्रणाली भर्खर सुरु भएकाले सबै मन्त्रालयलाई सक्रिय बनाउन केही समय लाग्ने सहसचिव भुसालको भनाइ छ । करिब एक सातापछि अनलाइनबाट मन्त्रालयको अनुगमन गर्ने प्रणाली सक्रिय हुने उनले बताए ।

सफ्टवेयर कस्तो छ ?
गत २७ असारमा प्रधानमन्त्री केपी ओलीले हरेक मन्त्रालयसँग सरकारको नीति तथा योजना र बजेटअनुसार आर्थिक वर्षका लागि मन्त्रालयको कार्ययोजना माग गरेका थिए । त्यसै आधारमा मन्त्रालयले समय तोकेर पेस गरेको कार्ययोजनाअनुसार काम गरिरहेको छ कि छैन भन्ने अध्ययन गर्न प्रधानमन्त्रीको कार्यालयले अनुगमन महाशाखा बनाएको छ । महाशाखाले अनलाइन प्रणालीबाटै अनुगमन गर्ने सफ्टवेयर निर्माण गरेको छ । उक्त सफ्टवेयरमा हरेक मन्त्रालयले आफ्नो कार्ययोजनाअनुसार भएको कामको विवरण पेस गर्नुपर्नेछ । नयाँपत्रिकाबाट