ल्हासा-केरुङ-काठमाडौं-लुम्बिनी रेलमार्गलाई जोड

699
views

काठमाडौं– चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओबीच भेटवार्ता भएको छ । सो भेटमा पूर्वप्रधानमन्त्री दाहालले आफ्नो दुवै प्रधानमन्त्रीत्वकालमा भएका चीन भ्रमण र ती भ्रमणका क्रममा भएका छलफल र समझदारीको स्मरण गर्दै ल्हासा–केरुङ–काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणमा विशेष जोड दिएको सचिवालयले जनाएको छ ।

उक्त अवसरमा दुवै नेताबीच ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ विषयमा छलफल भएको र दाहाल आफैँले उक्त प्रस्तावमा समर्थन जनाउँदै हस्ताक्षर गरेको बताएका थिए ।

भेटमा उनले नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई अझै सुदृढ गर्ने र नेपाल सरकार र चिनियाँ सरकारबीच भएका सम्झौता, समझदारीलाई कार्यान्वयन गराउने आफ्नो भ्रमणको उद्देश्य भएको बताए ।

भेटका अवसरमा विदेश विभाग प्रमुख ताओले चीन र नेपाल तथा चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको सम्बन्ध विकासमा अध्यक्ष दाहालको योगदानको प्रशंसा गर्दै धन्यवाद दिएका थिए ।

चिनियाँ क्रान्तिको ऐतिहासिक नगरी येनान हुँदै नान्जिङ पुग्नुभएका अध्यक्ष प्रचण्डलाई प्रमुख ताओले स्वागत गरेका थिए । अध्यक्ष दाहाल चार दिने चीन भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।