महिला हिंसा बिरुद्ध पेरिसमा प्रदर्शन

883
views

लन्डन, ८ असोज । नेपालमा बढ्दै गएको महिला हिंसा बिरुद्ध पेरिसमा प्रदर्शन भएको छ । कञ्चनपुरकी १३ वर्षिया वालिका निर्मला पन्त र माया विक लगायतका महिलाहरुमाथि भएको हत्या, हिंसा र बलात्कारका घटना बिरुद्द फ्रान्समा रहेका नेपालीहरुले पेरिसमा प्रदर्शन गरेका हुन् ।

पेरिसको स्तालिनग्राद पार्कमा आइतबर भएको प्रदर्शनमा बिभिन्न संघ संस्थाका प्रतिनिधि, महिला, लेखक, पत्रकार र सर्वसाधरणहरु जम्मा भएका थिए।

नेपाली महिलाहरुमाथि भएका हत्या, हिंसा र बलात्कारका घटना बिरुद्ध अन्तराष्ट्रिय रुपमा पनि आवाज उठाउनुपर्ने भन्दै पेरिस रहेका नेपालीहरुले सामूहिकरुपमा बिरोध प्रदर्शन गरेको आयोजक मध्येका एक दधि सापकोटाले बताए ।

प्रदर्शनकारीले हिंसाबाट ज्यान गुमाएका आम नेपाली महिलाहरुको सम्झनामा मैनबत्ती बालेका थिए। सहभागिहरुले घटनाको सांकेतिक बिरोध स्वरुप कालो पहिरन लगाएका थिए । प्रदर्शनकारीले महिला माथिको हत्या, हिंसा र बलात्कारका बिरुद्ध गीत, कथा, कविता सुनाएर नेपाल सरकारको बिरोध जनाएका थिए ।

प्रदर्शनमा सहभागी रबिन शर्माले सरकारको तर्फबाट अनुसन्धानमा संलग्न अधिकारीहरुको काम न्यायपूर्ण हुननसकेकाले ति घटनाका अपराधीहरुमाथि कारवाहीको माग गरे ।

माया बिक र निर्मला पन्तको घटना समान प्रक्रितिको भएपनि ति घटनामा प्रहरीको शंकास्पद भूमिका देखिँदा प्रहरीतिरै औला फर्किएको र घटना झन रहस्यमयी बनेको कविन्द्र कायस्थले बताए ।

सामाजिक न्याय र असमानता, हत्या र हिंसा बिरुद्धमा प्रदर्शन गरिएको नेपाली एकता समाजका संरक्षक तप्त भण्डारीले बताए ।