आजदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने

774
views

काठमाडौं । आजदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । बिहान ९ बजेबाट बुकिङ खुल्नेछ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिबीच सहमति जुटेपछि व्यवसायीले टिकट बुकिङ खुल्ला गरेको जनाएको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वारका अनुसार बस व्यवसायी समितिका जुनसुकै काउन्टरमा गएर यात्रुले टिकट बुकिङ गर्न सक्नेछन् । उनले भने, ‘काठमाडौंको नयाँबसपार्क र बस व्यवसायीको जहाँ रहेको काउन्टरबाट टिकट बुकिङ गर्न सकिन्छ ।’

शनिबार मात्रै भाडा वृद्धि गर्नेलगायत ४ बुँदे सहमति सरकारले व्यवसायीसँग गरेका थिए। व्यवसायीले विभिन्न माग गर्दै यसपटक दसैंका लागि टिकट बुकिङ नगर्ने अडानमा थियो । २०६५ मा वैज्ञानिक भाडा दर लागू गर्दा पेट्रोलियम पदार्थ एकमुष्ट प्रतिलिटर ५ रुपैयाँका दरले वृद्धि भए त्यसकै आधारमा सवारी भाडा बढ्ने सहमति भएको थियो । तर, एकै पटक ५ रुपैयाँ प्रतिलिटर नबढे पनि थुप्रैचोटि मूल्यवृद्धि भइसकेको व्यवसायीको भनाइ छ ।