घर पुग्यो सम्झनाको शव, राहत र न्याय दिन परिवारको बिलौना

1052
views

काठमाडौं । घरमा सु्तिरहेकै ठाउँमा तेजाव आक्रमणबाट ज्यान गुमाएकी रौतहटकी किशोरी सम्झना दासको शव उनको घर पुर्याइएको छ । छिमेकीले नै तेजाव हानेपछि गम्भीर घाइते भएकी १८ वर्षीया उनको आइतबार राति ११ बजेर ४० मिनेटमा कीर्तिपुर अस्पतालमा निधन भएको हो । उनलाई आइसीयूमा राखेर उपचार गरिँदै थियो । सम्झनाको मृत शरीर काठमाडौँबाट शवबहानमा राखेर रौतहटस्थित घर पु¥याउँदा ठुलो संख्यामा स्थानीयबासी जम्मा भएका थिए । उनीहरुले त्यस क्रममा दोषीमाथि कडा भन्दा कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।

चन्द्रपुर नगरपालिका–६ स्थित सम्झनाको घरमा सयौँको संख्यामा स्थानीय जम्मा भएपछि इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट प्रहरी नायव उपरीक्षक युवराज खड्काको कमाण्डमा प्रहरी टोली परिचालित भएका छन् ।

प्रहरीले अहिले सम्झना र उनीमाथि तेजाव हान्ने छिमेकी रामबाबु पासवानको घरमा पनि कडा सुरक्षा दिइरहेको छ । शव घर लगिएपछि पीडित परिवारले सरकारबाट उचित राहत या क्षतिपूर्ति नपाएसम्म शव अन्तिम संस्कार नगर्ने अडान लिएका छन् ।

मृतक सम्झनाका बुवा जादोलाल दाससहितले छोरीमाथि तेजाव खन्याउनेमाथि कडा कारबाही र उचित राहत नदिएसम्म शव नउठाउने अडान लिएका छन् । यता दिदीसँगै तेजाव खन्याइँदा घाइते भएकी १५ वर्षीया सुस्मिताको कीर्तिपुर अस्पतालमै उपचार जारी छ । उपचारपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

उपचारमा संलग्न चिकित्सकका अनुसार ज्यान गुमाएकी सम्झनाको शरीर ३५ प्रतिशत भन्दा बढी जलेको थियो। यस्तो अवस्था चिकित्सकीय भाषामा ‘मेजर बर्न’ (गम्भीर जलेको) हो।

मेडिकल भाषामा ‘सेप्सिस’ (संक्रमण) अवस्थामा रहेकी उनको स्वासप्रस्वास प्रणालीले काम गर्न छोडेपछि निधन भएको अस्पतालका प्रवक्ता डा. सुरेन्द्रजंग बस्नेतले जानकारी दिएका थिए

घरमा सुतिरहेको अवस्थामा उनीहरूलाई भदौ २६ गते मंगलबार राति करिब १२ बजे अपरिचित व्यक्तिले तेजाव फ्याँकेका थिए । घाइते भएका दुवैजनालाई रौतहटको चन्द्रपुर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं ल्याइएको थियो। रौतहट चन्द्रपुर–६ का दास दिदीबहिनी स्थानीय जनज्योति माविमा ७ कक्षा र ६ कक्षामा अध्ययनरत थिए। मृतक सम्झनाको सोमबार त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरी शव परिवारको जिम्मा लगाएपछि रौतहट लगिएको हो । अन्नपूर्णपोष्टबाट