१४ वाणिज्य बैंकको नाफा १७ अर्ब ८३ करोड

612
views

काठमाडौं,२२, बैशाख । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १४ वटा वाणिज्य बैंकले १७ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएका छन् । गत वर्ष यस अवधिमा १४ वटा वाणिज्य बैंकले १२ अर्ब ८२ करोड नाफा गरेका थिए । १४ वटा वाणिज्य बैंकको नौ महिनाको अपरिस्कृत वित्तीय विवरणअनुसार हाल कमाएको नाफा गएको वर्षको यसै अवधिको तुलनामा ३९ प्रतिशत बढी हो । चालू आवको यस अवधिमा एक अर्ब रुपैयाँभन्दा बढी नाफा गर्ने वाणिज्य बैंकको संख्या नौ छ । चुक्ता पुँजी वृद्धिसँगै बढेको लगानी र त्यसबाट प्राप्त ब्याज, पुरानो ऋण असुली, बढ्दो व्यापार, विदेशी मुद्रा कारोबारबाट भएको आम्दानीलगायतले बैंकहरूको नाफा बढाएको हो । राजनीतिक स्थिरतासँगै देशमा लगानीमैत्री वातावरण बढ्दै जानु, ऊर्जाको आपूर्ति सहज हुनाले बैंकहरूको खर्च घट्नुलगायत पनि नाफा बढ्नुका कारण हुन् । गएको वर्ष भूकम्प, नाकाबन्दीलगायतका कारण बैंकहरूले कर्जा विस्तार गर्न सकेका थिएनन् । बैंकमा लगानीयोग्य पुँजी थुप्रिएर बस्दा बैंकले त्यति नाफा आर्जन गर्न सकेको थिएनन् । तर, यस वर्ष लगानी विस्तार भएको छ, फस्टाउँदो लगानीले बाँकी दिनमा अझ नाफा बढाउने बैंकर्सहरूले बताएका छन् ।