उप -प्रधानमन्त्री महरा आज जाइकाका उपाध्यक्षसँग भेट्ने

1107
views

जापान, २२ वैशाख । – एसियाली विकास बैंक (एडिबी) सञ्चालक समितिको ५०औँ बैठकमा भाग लिन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उप -प्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा आज बिहान यहाँ आइपगेका छन् । उप प्रधानमन्त्री महरा नेतृत्वको प्रतिनिधिमण्डललाई हेनेदा अन्तर्रा्ष्ट्रिय विमानस्थलमा टोकियोस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले स्वागत गरे । प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी, सोही मन्त्रालयको अन्तर्रा्ष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख वैकुण्ठ अर्याल लगायत छन् । उपप्रधानमन्त्री महराले आज जापानको अन्तर्रा्ष्ट्रिय विकास सहयोग नियोग (जाइका)का उपाध्यक्षसँग आपसी हित र चासोका विविध विषयमा विचारविमर्श गर्ने कार्यक्रम छ । आजै उहाँ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशका अर्थमन्त्रीहरुको बैठकमा सहभागी हुनेछन । बैठकमा भाग लिन सार्कका महासचिव अमजद हुसेन बी सियाललगायत सार्क सचिवालयका उच्च पदाधिकारी पनि योकोहामा आइपुगेका छन् । बैठकमा दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा), अन्तरक्षेत्रीय व्यापार तथा लगानी प्रवद्र्धनलगायत विषयमा छलफल हुने छ । यसैबीच, एडिबीका उच्च अधिकारीहरुको गएराति सम्पन्न बैठकमा नेपाललाई आगामी सन् २०३० सम्ममा मध्यम आययुक्त मुलुकका रुपमा स्तरोन्नति गर्न एडिबीलगायत विकासका अन्य साझेदारले सहयोगको मात्रा बढाउनुपर्नेमा नेपालले जोड दिएको छ । थाइल्यान्ड, म्यान्मा, सिङ्गापुर, ब्रुनाई, मलेसियाका उच्चअधिकारी सम्मिलित उक्त बैठकमा नेपालले दिगो विकासका लक्ष्य हासिल गर्न तथा नेपालको सामाजिक–आर्थिक विकासमा सघाउन आफूले आग्रह गरेको नेपाली प्रतिनिधिमण्डलका नेता अर्यालले जानकारी दिए । बैठकमा एडिबीको रणनीतिक साझेदारी र नीति, निजी क्षेत्रसँगको सहकार्य, दक्षिण एसियाको समृद्धिमा एडिबीको भूमिकाबारे पनि छलफल भएको उनले बताए ।