साहित्यकार भट्टराईको पहिलो सन्तान ‘वर्तुल’ले दिएको सन्देश

1204
views

गोविन्द अधिकारी
पर्वत । परदेशको भूमिभारतको गुहाटीबाट साहित्य पस्कने हुटहुटी लिई मातृभूमि प्रवेश गर्ने एक युवा नारी पात्रको नाम हो विनु भट्टराई । यौन, जोश, जाँगर सवै रित्याउदै दुई पैसाका लागि परदेशमै रमाउने युवापंक्ति बढ्दै गरेको देख्दा एक नारी जसले आफ्नै भूमिमा गजल रुपी साहित्यिक पहिलो सन्तान ‘वार्तुल’ लिएर आएकी छिन् ।

प्रेम, संस्कृति, जीवन, जगतका भोगाई र बुझाईलाई गजल मार्फत् पोख्दै दुनियाँलाई सतकर्ममा घच्घचाउन खोज्दै गर्ने युवा साहित्यकार भट्टराईको जन्म पर्वतको कर्नास, पाङराङमा भएको हो । छिमेकी देश भारतमै स्नातकसम्मको पढाई पुरा गरेकी भट्टराईले आफूलाई बाल्यकालदेखि नै साहित्यिक यात्रातर्फ रुचि बढेको बताउँछिन् । साहित्य क्षेत्रमा एउटा परिपक्व सन्तान जन्माइसकेकी साहित्यकारलाई आफ्नो बाल्यअवस्थामा साहित्यप्रतिको लगाव कसरी बढ्दै थियो ? भन्ने सम्झदा अहिले पनि उनको मन कुतकुतिएर आउँछ । साहित्यमा प्रेरणाका स्रोत मानिएका उनकै बाबु रामप्रसाद भट्टराईकै काखमा हुर्कदै गर्दा साहित्यकार भट्टराईको मनले साहित्यिक क, ख सिकिसकेको थियो ।

सानो छदैखेरि लोक दन्त्यकथा, भजन, गीत सुन्दै हुर्केकी उनले जवानी बढ्दै जाँदा आफूलाई झनै त्यसमा आकर्षण बढ्दै गएको पाइन् । साहित्यकारको ‘वर्तुल’ नामक गजल कृति जुन पहिलो साहित्यिक कृति होे तर रचनाको भाव र वाक्य संरचनाका हिसावले पहिलो भन्ने छनक दिएको पाइदैन । उनका कतिपय गजलका हरफहरु केही शव्दमै गहिरो जीवनदर्शन ओकल्न र मार्गदर्शन गर्न सफलभएका छन् । यही कलाले उनको पहिलो कृति नै साहित्यिक मनहरुको मन जित्न सक्ने देखिन्छ । उनले सत्यको परिभाषा ओकल्दै मृत्युपारको सन्देश दिदै मुक्तिको वात यसरी गर्दछिन् ।

सत्य टिक्छ, दशऔला जोडेर वसौ ।
मुक्ति त्यहीँनेर मिल्छ, मोह छोडेर बसौं ।

प्रायजसो देखिन्छ जन्म–मृत्युका घटना,
तैपनि मानिस अन्जान छ आफ्नै मरणबाट ।

उपरोक्त गजल पंक्तिले मानिसले जीवन जगतको रहस्यमयी खेललाई बुझ्न नसकेर निहित स्वार्थमै भुलेर मानवतालाई समेत लत्याएको भनी शालीन तवरबाट आलोचना गरेकी छन् । मानिसले जीवनको जन्ममृत्यु जस्तो शास्वत सत्यलाई बुझ्न र सम्झन नसकी भ्रंममा बाँचिरहेकाले नै दुःखीहुनु परेको कुरा उल्लेख गजल पंक्तिले गरेको छ ।

साहित्यकार भट्टराई जीवन जगतप्रति जति गहन तर सरल तरीकाले आफ्ना शव्द खेलाउन सफल छिन् । उसैगरी उनले आफूलाई प्रेमिल बनाउँदै प्रेमको रापले आफै आनन्दविभोर बन्न समेत चुकेकी छैनन् । प्रेमलाई जीवनभनेर परिभाषा गर्ने साहित्यकार भट्टराईले एक प्रेमिका जव आफ्नो प्रेमीको न्यानो सामिप्यतामा आउँछिन् उनमा आउने भावनात्मक उतारचढावलाई गजल पंक्तिमार्फत् यसरी प्रेमिल भावनाले रोमान्टिकता प्रस्तुत गर्दै साच्चिकै ईश्वर छन भने उनैको अनुकम्पामा कम्पित सर्वाङ मानव प्रेम भन्दा धेरै माथी हुन्छ।तर्सथ मान्छेलाई भुल्भुलैमा हाल्न सक्ने दुइअर्थी गजल हो यो एकातिर प्रेम अर्कोतिर अदृश्य शक्ति जोड्दै लेख्छिन्–

सर्नु भो नजिक नजिक त्रसित भएँ म ।
सर्वाङ्ग छोइदिनु भो, कम्पितभएँ म ।

कि आउदै नआउ, कि आगो बुझाऊ,
लाज, सरम नै भाग्छ तिमीलाई देखेपछि ।

भौतिकवादी दुनियाँतर्फ अतृप्त चाहनाले अति आकर्षित भै छट्पटिदै गरेको भौतिकवादी मनुष्यलाई गजलकारले गजलका शव्दमार्फत् सम्झाउन यसरी लागिपरेकी छिन्–

असीमित चाहनाले विगार्छ मान्छेलाई ।
सोचेको नभएपछि पीर पार्छ मान्छेलाई ।
जिन्दगीको राजमार्गमा हुँइकिदै जाँदा,
मृत्युले हरमोडमा पुकार्छ मान्छेलाई ।

यी हरफले आधुनिक समयका चेतनाले जड बनेका मुन्छेलाई मृत्यु मार्फत् होस् खुलाएर सत्यपथमालगाउने चेष्टा गजलकारले गर्दैछिन् । थोरै शव्द खर्चिएको गजल संग्रह ‘वर्तुल’ मार्फत् गजलकारले प्रेम, मृत्युचेतना, मानवअन्तरसम्वन्ध, जीवन जगत लगायतकाविषयवस्तु प्रस्तुतगर्दै पाठकहरुलाई सत्यपथतर्फ उन्मुखहुन झक्झकाउँछिन् । गजलकारको अर्को खास विशेषता भनेको आफ्नो रचनामा सकारात्मक सन्देशलाई जोड दिदै आक्रोश, कुण्ठा, रीस, रागलाई नामेट पार्नुपर्नेमाजोड दिन्छिन् ।

समाजमा देखापर्ने विकृति विसंगतिप्रति गजलकारले व्यङ्ग्यात्मक प्रहार गरेकी छिन् । यसले गजलकार प्रेम र प्रकृतिसँग मात्र नभई कु–संस्कृतिलाई हटाउनुपर्छ भन्ने मान्यता प्रकट गर्छिन्–

बोक्सीकै आरोपमा जल्छन् विधवा र असक्त
को छ र यहाँ धामीझार्की बनि चमत्कार गरेको ?

गजलकार भट्टराईको कृति वर्तुलको जुन अर्थ हुन्छ चक्र यही नामको अर्थ अनुसार नै मावनजीवन र प्रकृतिजगतमा देखा पर्ने हरेक पक्षको चक्रीय पद्धतिलाई उजागर गर्ने प्रयास गरेको छ ।