बागमतीको बगर सुन जस्तै महँगो

1099
views

सिन्धुलीमाढी, ११, असोज । दस वर्षअघिसम्म मरुभूमि जस्तै रहेको बागमती नदीको बगर यतिखेर स्थानीय बासिन्दाका लागि सुनजस्तै महँगो बन्दै गएको छ । सिन्धुली र मकवानपुरको सिमाना भई बग्ने बागमती नदीको बगरलाई सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका विपन्न परिवारले मिहिनेत र परिश्रम गरी सुनजस्तै महँगो उर्वर जमिनमा परिणत गरी गुजाराको दरिलो माध्यम बनाएका हुन् । अहिले यही बगरको उब्जनीले चार सयभन्दा बढी विपन्न परिवारलाई गाँस र बास दिएको छ ।

हरिहरपुरगढी गाउँपालिका–१ निवासी वीरबहादुर घलान अहिले आफ्नो १५ जनाको परिवार बागमती नदीको बगरमा उब्जिएको बालीबाटै पालिएको बताउनुहुन्छ । करिब एक बिघा बगरमा आफूले खेती गरेको र बगरको उब्जनीबाट खाई नसकेको धान–मकै गरी वर्षमा ५० मुरी जति बेच्दै आएको पनि उहाँको भनाइ छ ।

पाँच वर्षअघिको आफ्नो परिवारको अवस्था स्मरण गर्दै उहाँ भन्नुहुन्छ, चिसापानी डाँडाबाट झरेर खोरिया फाँडेर बसेका थियौँ । फाँडेको खोरियामा गरेको जुनेलो खेतीबाट बल्लतल्ल परिवारको पाँच÷छ महिना गुजारा चल्दथ्यो । बागमतीको बगरमा त्यो ख्यालको उब्जनी हुने कसैलाई ख्याल नै थिएन । अहिले बगरमा खेती गर्न थालेपछि परिवारको आर्थिक अवस्थामा निकै सुधार आएको छ ।

बागमती नदीको उक्त बगर ऐलानी (सार्वजनिक) जग्गा भए पनि राम्रो उब्जनी हुने भएकाले सबैले आँखा गाडेको स्थानीय कृषक बताउँछन् । सोही ठाउँका अर्का कृषक गणेशबहादुर घलान अहिले बागमतीको बगरमा चार सयभन्दा बढी परिवारले करिब एक हजार हेक्टरमा खेती लगाएको जानकारी दिनुभयो । उहाँले पनि आफ्नो १६ जनाको परिवार बगरकै आम्दानीले पालिएको बताउनुभयो । बगर नभए हाम्रो गाँस र बास नै छैन, कृषक घलानले भन्नुभयो, मकै वर्षको २०÷२५ मुरी जति बेच्छु । धान पनि ६० मुरी जति हुन्छ । ठूलो परिवार भएकाले धान चाहिँ आफैँले उपभोग गरेर सक्छौँ ।

उहाँका अनुसार उक्त बगरको खेतीबाट अधिकांश तामाङ र माझी समुदायका परिवार लाभान्वित भएका छन् । कसैको पनि जागिर नभएकाले सबैले बगरकै कमाइबाट घरमा चाहिने नुन भुटुनको जोहोदेखि आफ्ना छोराछोरीलाई विद्यालयमा पढाउँदै आएका छन् ।

गुजाराको दरिलो माध्यम बनेको बगरलाई वर्षात्को मौसममा समय–समयमा बागमतीमा आउने बाढीले दुःख दिने गरेको गुनासो स्थानीय कृषकले गरेका छन् । उनीहरूका अनुसार बागमती नदीको किनारमा पाँच वर्ष पहिले तत्कालीन समयमा जिविसको १४ लाख रुपियाँ सहयोगमा निर्माण गरिएको तटबन्ध पनि अहिले ठाउँ–ठाउँ भत्किएकाले बगरमा गरेको खेती असुरक्षित बनेको छ ।