हाइटेक टनेल प्रविधिमा लगानी बढाउँदै किसानहरु

2316
views

बागलुङ । बागलुङका किसानहरुले दीर्घकालिन आम्दानीका ‘हाइटेक टनेल’ प्रविधिमा लगानी बढाउन थालेका छन् । प्लाष्टिक टनेलमा उत्पादन बढाउँदै आएका उनीहरुले ‘हाइटेक टनेल’ प्रविधिमा लगानी बढाउन थालेका हुन ।

खुल्ला आकाशमा तरकारी खेती गर्दा रोग किराले आक्रमण गर्ने हुँदा बेमौसमी तरकारी खेतीका लागि उचित मानिएको प्लाष्टिक घर भित्रको तरकारी खेतीलाई आधुनिक प्रविधिमा रुपान्तरण गर्न उनीहरु उद्धत बनेका हुन ।

बाँसबाट निर्माण गरिने परम्परागत प्लाष्टिक घर धेरै वर्ष नटिक्ने, सामान्य हावाहुरीले असर गर्ने समस्याबाट पीडित किसानहरु लाखौं लगानी गरेर हाइटेक प्रविधिको प्लाष्टिक घर निर्माण गरिरहेको गलकोटका अगुवा किसान गुमानसिँह खत्रीले बताए ।

खत्रीले हाइटेक प्रविधिको टनेल निर्माणको काम पहिलोपटक सुरु गरेका हुन् । उनले करिब २० लाख रुपियाँ खर्च गरेर यो प्रविधि अपनाएको बताउँदै भने ‘एक सिजनमा ७९ क्वीन्टलभनदा बढी टमाटर बिक्री गर्दै आएको छु ।’