शर्मा र पाण्डे पद्मश्री साहित्य पुरस्कारद्वारा सम्मानित

975
views

काठमाडौं । यस वर्षको पद्मश्री साहित्य पुरस्कार नयनराज पाण्डेको कृति “यार’ ले पाएको छ भने लामो समयदेखि नेपाली भाषा साहित्यको श्रीवृद्धिमा अमूल्य योगदान र्पुयाएका डा. तारानाथ शर्मालाई पद्मश्री साधना सम्मान प्रदान गरिएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक वर्ष यी पुरस्कार र सम्मान प्रदान गर्दै आएको छ ।

वि.सं. २०६३ देखि वर्षभरि प्रकाशित पुस्तकमध्ये विशिष्ट कृतिलाई र २०६७ सालदेखि साहित्य, कलामा दीर्घ साधना गरेका साधकलाई प्रतिष्ठानले सम्मान गर्दै आएको हो । दुवै पुरस्कारको राशि दुई÷दुई लाख रुपैयाँ रहेको छ ।

गत वर्षसम्म पाँचवटा कृति मनोनयन गरी सार्वजनिक गरे पनि यस वर्षदेखि १० वटा कृति मनोनयन गर्ने योजना बनाइएको तर ’प्राविधिक कारणवस’ भन्दै सूची घोषणा गर्ने योजना स्थगित भएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष जीवा लामीछानेले सिर्जनामा कुनै प्रतिस्पर्धा नहुने बताए ।

सम्मान ग्रहणपश्चात डा. शर्माले पद्मश्री साधना सम्मानबाट सम्मानित हुन पाउँदा आफ्ना सारा आलश्यहरू बिलाएर गएको बताए ।

यस्तै, पद्मश्री साहित्य पुरस्कार ग्रहणपश्चात पाण्डेले पुरस्कार पाउनु लेखकको जीवनको सबैभन्दा सुन्दर घटना नभएको तर एउटा असल कृतिको सिर्जना गर्न सक्नु लेखकको जीवनको सर्वाधिक सुन्दर घटना भएको बताए ।