राष्ट्रिय पर्वको आकार लिंदै छठ पर्व

813
views

पर्वत, २६, कात्तिक । तराईमा मनाईने छठ पर्वले राष्ट्रिय पर्वको आकार लिदैं गएको छ । राजधानी लगायतका विभिन्न शहरहरुमा छठ पर्व मनाउन थालिएको छ । जातीय तथा क्षेत्रीय मुद्दामा विवाद र विभाजित हुन लागेकाहरूलाई छठ पर्वले सद्भाव, एकता तथा सहिष्णुताको सन्देश दिन थालेको छ ।

आइतबारदेखि छठको रौनक सुरु भएको छ । यसको तयारी पनि राजधानी काठमाडौँलगायत देशैभर तीब्र छ । ‘केही समयअघि तराईको एउटा समुदाय विशेषको पर्व रहेको छठ अहिले धेरै नेपालीले राष्ट्रिय महत्व र गौरवको अनुभूति गर्दै मनाउन थालेको संस्कृतिविद्को भनाई छ । छठ नेपाल, भारतलगायत नेपाली र भारतीय मूलका बसोबास गर्ने संसारभरका मुलुकमा मनाउन थालिएको छ ।

पुरातत्वविद् तारानन्द मिश्र केही वर्षअघिसम्म काठमाडौँलगायत मुलुकको पहाडी भेगका विभिन्न सहरमा नितान्त नयाँ पर्वको रुपमा रहेको छठ पर्वमा पहाडी भूभागका दिदीबहिनी समेत सहभागी हुनुले यस पर्वले राष्ट्रिय स्वरुप ग्रहण गर्दै गएको प्रमाणित भएको बताउँछन् ।

छठ पर्व नेवार समुदायमा मनाइने कुमारी पूजासँग समेत सम्बन्धित रहेको बताउँदै नेवार समुदायमा समेत एक दिन षष्ठी नखः पर्व मनाईनछ ।

सत्ययुगमा सरयाती नामका राजाका सुपुत्री सुकन्याले पहिलो पटक छठ पर्व गरेको पौराण्कि तथ्य छ । महाभारतमा पनि पाण्डवहरूको गुप्तवासको सफलताको कामना गर्दै द्रौपदीले छठ पर्व गरेको पाईन्छ । त्यसै गरी, सूर्यपुराणमा अत्रिमुनिका अर्धाङ्गनी सति अनुसुइयाले छठ पर्व गरेको उल्लेख छ ।

छठ पर्वमा गरिने सूर्यको आराधनाले छाला सम्बन्धी रोग निको हुने जनविश्वास रहेको पाइन्छ । तिहार सम्पन्न भएसँगै छठ पर्वको चहलपहल र तयारी सुरु भएको छ । जलाशयको किनारमा अर्घ दिएर मनाइने यस पर्वको तयारी स्वरुप पोखरी, तलाउ, नदी, खोलालगायतका जलाशयको सरसफाइ तथा सिँगार्ने कार्य आइतबार सुरु भएको छ ।

विशेषगरी अराध्यदेव सूर्यको उपशाना र आराधना गरी मनाइने यो पर्वको मुख्य अंश मङ्गलबार सुरु भई बुधबार सम्पन्न हुँदैछ । यो पूजाको पहिलोे दिन अर्थात् कात्तिक शुक्ल चौथीको दिनलाई ‘नहान–खान’ भनिन्छ । यो दिन ब्रतालुहरुले स्नान ध्यान गरी खास गरी अरुवा चामलको भात, रहरको दाल र लौकाको तरकारी बनाई ग्रहण गर्ने गर्दछन् ।

त्यसैगरी, दोश्रो दिन अर्थात् पञ्चमीका दिनलाई ‘खरना’ भनिन्छ । यो दिन ब्रतालुहरु दिनभरि उपवास बसी बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र भाँडामा सख्खर, दूध र चामलको खीर पकाई केराको पातमा राखेर छठी मातालाई चढाइन्छ र चढाइएको सो खीरलाई ब्रतालु र परिवारका अन्य सदस्यहरुले प्रसादको रुपमा ग्रहण गर्दछन् ।

यस पर्वको तेश्रो दिन अर्थात् षष्ठीका दिन चामलको पिठोबाट तयार पारिएका विभिन्न परिकारसहित पाँच थरिका मिठाई, ऊखु, अदुवा, नरिवल, मूला, सुथनी, सुपारी, ल्वाङ्, सुकमेल लगायतका प्रसादहरु बाँसको टोकरी, नाङ्लो र सिपुलीमा राखेर साथै शुद्ध जल र गाईको दूधसहित ब्रतालुहरू परिवारका सदस्यहरुसहित नजिकको जलाशयमा जान्छन् र ब्रतालुहरु अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन । भोलिपल्ट कात्तिक सप्तमीका दिन ब्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व सम्पन्न हुन्छ ।