धारापानी सिँचाइ योजना अलपत्र

665
views

भीमदत्तनगर, ३ मङ्सिर । निर्माण कम्पनीको बेवास्ताका कारण कञ्चनपुर कृष्णपुर नगरपालिका–१ दोमिल्लामा रहेको धारापानी सिँचाइ आयोजना अलपत्र परेको छ । सिँचाइ आयोजना सम्पन्न गर्न ठेक्का पाएको आशिष कन्स्ट्रक्सन धनगढीले दुई पटक समयसीमा थप गर्दा पनि काममा ढिलाइ गरेपछि योजना अलपत्र परेको हो । दोस्रो पटक काम गर्न थप गरिएको समय सकिएर आठ महीना बितिसक्दा पनि योजनाको काम निर्माण कम्पनीले अटेर गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भीमदत्तनगरले जनाएको छ ।

‘आशिष कन्स्ट्रक्सनलाई दोस्रो पटक काम सक्ने गरी गत फागुन १० गतेसम्म म्याद दिइएको थियो’’ जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भीमदत्तनगरका सूचना अधिकृत इञ्जिनीयर ग्रीष्मा ठगुन्नाले भन्नुभयो, “कार्यालयबाट पनि मौखिक र लिखित रुपमा ताकेता गर्दा पनि निर्माण व्यवसायी सम्र्पकमा आएनन् ।”

सिँचाइ आयोजनाको नहर, कल्र्भटलगायत अन्य पूर्वाधार निर्माणका लागि उक्त निर्माण कम्पनीसँग २०७२ असार २५गते रु चार करोड १५ लाखका सम्झौता भएको इञ्जिनीयर ठगुन्नाले जानकारी दिनुभयो । ‘‘शुरुवातमा सम्झौता गर्दा २०७३ असोज महीनासम्मको म्याद थियो’’ उहाँले भन्नुभयो, “तोकिएको मितिमा काम नसक्ने भएपछि पुनः २०७४ फागुन २७ गतेसम्मको म्याद दिइएको थियो ।”

दुबै म्याद सकिएको आठ महीना बितिसक्दा निर्माणका चासो नदेखाएपछि कार्यालयबाट लिखितरुपमा ताकेता गरिएको थियो । ‘‘निर्माण कम्पनीले करीब ६० प्रतिशत काम सकेर रकम भुक्तान समेत भइसकेको छ’’ ठगुन्नाले भन्नुभयो,“४० प्रतिशत काम अझै गर्न बाँकी नै छ ।” उहाँका अनुसार हालसम्म गरेको कामबापतको रु दुई करोड ६७ लाख भुक्तानसमेत भइसकेको छ ।

सो क्षेत्रको तीन सय हेक्टर जमीनमा सिँचाइ पुग्ने गरी निर्माण गर्न लागिएको योजना समयमा पूरा नहुँदा स्थानीयवासी भने चिन्तित बनेका छन् । ‘‘ठेकेदारले नहर बनाउन ल्याएका सामान समेत धारापानी क्षेत्रमा अलपत्र छन्’’ दोमिल्लाका स्थानीय भीमदत्त भट्टले भन्नुभयो ।

दुई प्याकेजमा निर्माणको ठेक्का दिइएको उक्त सिँचाइ योजनाको कामको जिम्मा पाएको भीमदत्तनगरस्थित पृथ्वी महरा जेभीले समयमै काम सम्पन्न गरेर हस्तान्तरण गरिसकेको छ । पृथ्वी महरा जेभीले रु एक करोड २० लाख बढीको काम गत २०७३ असोजमै सम्पन्न गरिसकेको थियो ।

खानेपानीको समस्या समेत रहेको दोमिल्ला क्षेत्रमा स्थानीयवासी दशकौंदेखि आकाशको पानीको भरमा खेती गर्दै आएका छन । उहाँले मुल नहर निर्माणसँगै सिँचाइ पु¥याउन बनाउन पर्ने शाखा नहर निर्माणका लागि सर्वे हुन नसकेको बताउनुभयो ।

पानीको मुहानमै नहर निर्माणको काम हुन नसकेको बताउँदै उहाँले तत्काल नहर निर्माणका लागि सम्बन्धित निकायलाई पहल गरिदिन आग्रह गर्नुभयो ।