एप्पलले नयाँ आइफोनको उत्पादन घटायो

587
views

काठमाडौं । विश्व चर्चित आइफोन उत्पादन अमेरिकी कम्पनी एप्पलले आफ्ना पछिल्ला तीनवटा आइफोनको उत्पादनमा कटौती गरेको छ । गत सेप्टेम्बरमा बजारमा ल्याएका तीनवटै आइफोनको प्रोडक्सन अर्डरमा एप्पलले कटौती गरेको स्रोतलाई उद्धृत गर्दै वालस्ट्रिट जर्नलले जनाएको छ ।

नयाँ आइफोनहरुको माग अपेक्षा भन्दा कम भएको र एप्पलले धेरै मोडेल उपलब्ध गराउने निर्णय गरेसँगै कम्पनीका लागि आवश्यक पर्ने संख्यामा पाटपूर्जा तथा ह्याण्डसेटको पूर्वानुमान गर्न एप्पललाई कठीन भएको रिपोर्टमा उल्लेख छ ।

क्रिसमसको महिना समेत पर्ने चालू त्रैमासिकमा आइफोन बिक्रिको दर घट्ने अनुमान सहितको रिपोर्ट एप्पलले गत हप्ता सार्वजनिक गरेसँगै लगानीकर्ताहरु हतोत्साही बनेका थिए । एप्पलको उक्त प्रक्षेपणसँगै कतिपय आपूर्तिकर्ताहरुले चेतावनी समेत जारी गरेका थिए र त्यसले नयाँ आइफोनको बिक्रि झनै घटाएको बताइएको छ ।

खासगरी एप्पलको बहुप्रचारित आइफोन एक्स आरले बिक्रिदरमा सबैभन्दा धेरै गिरावटको सामना गर्नेछ । यो ह्याण्डसेटको उत्पादनमा एप्पलले एक तिहाइले कटौति गर्नेछ । यसअघि सेप्टेम्बरदेखि फेब्रुअरी सम्मको अवधिमा ७ करोड आइफोन एक्स आर उत्पादन गर्नेगरी कतिपय आपूर्तिकर्ताहरुलाई भनिएको थियो ।

तर, गत हप्तामात्रै एप्पलले ती आपूर्तिकर्तालाई आइफोन एक्स आरको उत्पादनमा कटौति गरेको जानकारी गराएको छ । स्मरण रहोस् एप्पलले गत सेप्टेम्बरमा आइफोन एक्स एस, एक्स एस म्याक र एक्स आर सार्वजनिक गरको थियो । अघिल्ला दुई मोडेलको बिक्रि सेप्टेम्बरमै सुरु भएको थियो भने एक्स आरको बिक्रि अक्टोबरबाट सुरु भएको थियो ।