नेकपाको सचिवालय बैठकः प्रदेश कमिटीको नामावली पेस

951
views

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रदेश कमिटीहरूको नामावली पेस भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु सचिवालय बैठकमा सातवटै प्रदेश कमिटीको नामावली पेस भएको हो ।

प्रदेश कमिटीको एकीकरणलाई पूर्णता दिन कार्यदलले पेस गरेको प्रस्तावलाई शुक्रबारको बैठकले स्थायी समितिबाट अन्तिम टुंगो लगाउने गरी सहमति जुटाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रदेश कमिटीको एकीकरणलाई पूर्णता दिने गरी नामावली तय गर्न दसैँअघि बसेको सचिवालय बैठकले महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादल रहेको दुई सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले प्रस्ताव पेस गरे पनि थप छलफल भने नभएको श्रेष्ठले जानकारी दिए ।

‘बैठकमा प्रदेश कमिटीको एकीकरणलाई पूर्णता दिने गरी कार्यदलको प्रस्ताव पेस भएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘प्रस्तावमा सचिवालयको बैठकमा एकस्तरको समझदारी भएपछि अन्तिम टुंगो लगाउन स्थायी समितिमा प्रस्तुत गरिनेछ ।’

पोलिटब्युरो गठन र जनसंगठन एकीकरण पनि एजेन्डा
बैठकमा लामो समयदेखि थाती रहँदै आएको जनसंगठनहरूको एकीकरण, पोलिटब्युरो कमिटी गठन, केन्द्रीय सदस्यहरूको कार्य्विभाजन, स्थायी समितिको बैठकको मिति तथा सरकार र संसद् सञ्चालनको समीक्षा पनि एजेन्डाका रूपमा प्रस्तुत भएको छ । गत २१ असारयता स्थायी समिति बैठक नबसेकाले सचिवालयमा प्रस्तुत भएको एक दर्जनभन्दा बढी एजेन्डा थाती रहँदै आएको छ । सबै एजेन्डा लगातारको छलफलबाट टुंग्याउने गरी नै छलफल अघि बढ्ने प्रवक्ता श्रेष्ठले बताए । ‘बैठकमा प्रस्तुत सबै एजेन्डा टुंग्याउने गरी नै प्रस्तुत भएका छन् । थाती सबै एजेन्डा टुंगो लगाउने नै भनिएको छ,’ श्रेष्ठले भने ।

पोलिटब्युरो गठनसम्बन्धी एजेन्डा बैठकमा प्रस्तुत भए पनि पोलिटब्युरो सदस्य चयनसम्बन्धी विधि, प्रक्रिया, मापदण्ड र नामावली भने प्रस्तुत भएको छैन । तत्कालीन एमालेबाट पूर्वपोलिटब्युरो सदस्यलाई कमिटीमा समावेश गर्ने, नयाँ सदस्यहरू वरिष्ठताको मापदण्डका आधारमा चयन गर्ने तथा तत्कालीन माओवादीबाट केन्द्रीय सचिवालयमा रहेकामध्येबाट वरिष्ठताका आधारमा चयन गर्ने विषयमा शीर्ष तहमा छलफल चलिरहेको छ ।

असन्तुष्टहरूको ज्ञापनपत्र पनि छलफलमा
महसचिव विष्णु पौडेलले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै २१ जना केन्द्रीय सदस्यहरूले बुझाएको ज्ञापनपत्रबारे जानकारी गराएका थिए । ‘महासचिवले ज्ञापनपत्रबारे जानकारी गराउनुभयो, त्यसबारेमा पनि बैठकमा छलफल हुन्छ,’ श्रेष्ठले भने । पार्टीलाई विधि, प्रक्रियाअनुसार सञ्चालन गर्न माग गर्दै वरिष्ठ नेता माधवकुमार नेपालनिकट २१ केन्द्रीय सदस्यले बुधबार महासचिव पौडेललाई ज्ञापनपत्र बुझाएका थिए । नयाँ पत्रिकाबाट