च्याम्पियन्स लिग फुटबलः सात टिम नकआउट चरणमा

676
views

काठमाडौं, १२, मंसिर । च्याम्पियन्स लिग फुटबलमा गएरातिका खेलपछि सात टोली नकआउट चरणमा पुगेका छन् । शीर्ष क्लबहरु रियाल मड्रिड, युभेन्टस, बायर्न म्युनिख, म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड, एएस रोमा र आयाक्स एम्सटरडमले अन्तिम १६ मा ठाउँ सुरक्षित गरेका हुन् ।

गएराति भएको खेलमा स्पेनिस क्लब रियाल मड्रिडले ईटालीको एएस रोमालाई २–० ले हरायो । समूहको अर्को खेलमा रुसको सिएसकेए मस्कोलाई चेक गणतन्त्रको भिक्टोरिया प्लेजेनले २–१ ले हराएपछि रियाल मड्रिडसँगै रोमा पनि अन्तिम १६ मा प्रवेश गर्यो ।

युएफा च्याम्पियन्स लिगकै अर्को खेलमा जर्मनीको बायर्न म्युनिखले पोर्चुगलको बेनिफिकालाई ५–१ ले हराउँदा यही समूहको अर्को खेलमा नेदरल्याण्ड्सको आयाक्सले ग्रिसको एईके एथेन्सलाई २–० ले हरायो ।

यसैगरी समूह एफको खेलमा इंग्ल्यान्डको म्यान्चेस्टर सिटीले फ्रान्सको लियोंसँग २–२ गोलको बराबरी खेल्दा युक्रेनको शख्तरले जर्मनीको होफनहाईमलाई ३–२ ले पाखा लगायो ।

समूह एचको खेलमा इंग्ल्यान्डको म्यान्चेस्टर युनाईटेडले स्विट्जरल्याण्डको योङ ब्वाईजलाई १–० ले हराउँदा ईटालीको युभेन्टसले स्पेनको भ्यालेन्सियामाथि १–० कै जित निकाल्यो । च्याम्पियन्स लिग फुटबलमा लिग चरणका पाँचौ लेगका बाँकी ८ खेल आजराति हुनेछन् ।