“जाबो मेरो बलत्कार त भएको हो नि“

1413
views

कविता

नाथे,
यो नपुँसक सरकार !
बहिरो राज्य !
अन्धा जनताहरू !
र कमजोर प्रशासन अगाडि उभिएर
तपाईं किन बौलाउनु भएको बा ?

जाबो म लुटिएकी त हूँ नि !

हिजो मलाई,
बर्दिले मनमर्जी लुट्यो
आज मलाई
देशले पन्छायो
भोली मलाई
जो बाट हत्या गरियो उहिबाट जलाइनेछ
अब भन्नुस्
यति सानो कुरामा
तपाईं किन बौलाउनु भएको बा ?

जाबो मेरो देह रँगिएको त हो नि !

मलाई
जसरी गरियो उनिहरुको खुशिमा उपभोग
मलाई
जसरि गरियो उनिहरुको मर्जीमा तानातान
र मलाई
जसरि कोच्याइयो मुखमा कपडा
हो त्यसरीनै
कुहिन दिनुस् न मेरो शरीर
आत्मा त कुहिएको होइन नि होइन र ?
फेरि तपाई किन बौलाउनु भएको बा

आखिर मेरो हार भएको त हो नि !

बरु,
छोड्नुस अब मेरो लागि भोकै बस्न
पर्दैन अब मेरो निम्ति तड्पिनु
र नमाग्नुस् मेरो लागि न्यायको भिक
थाहा पाएर पनि बुच पचाउने
तपाईंको अनुरोधलाइ बेवास्ता गरिरहने
अर्धमृत सरकारसामू
बरु खुशिले ज्युनुस्
जाबो मेरो बलत्कार त भएको हो नि !

-सौगात गजमेर विश्वकर्मा