सत्य

1613
views

-कविता-

सत्य
सत्यको न उचाइ हुन्छ सगरमाथाको जस्तै
न गहिराइ हुन्छ सागरको जस्तै
बरु हुन्छ सत्य
सगरमाथाको हिउ जस्तै सेतो
रात होस या दिन
मोती जस्तै चम्किन्छ हर बखत
सर्वोच्चमा हुनुको
हुन्न कुनै अभिमानको घमण्ड ।
सत्यको अनन्ततामा सगर सानो छ
सत्यको फैलावटमा पृथ्वी साघुरो छ ।
सत्य,
न बस्छ पिजराको सुगौ भै
निर्भय निडर गर्छ उडान
बोल्दैन घोकन्ते भाषा
पटटु राम राम ।
बरु स्वछन्द र स्वतन्त्र बोल्छ बोली
दृष्टि दृश्य झै ।
सत्य,
घरी अनन्त आकास छुन्छ
घरी मनको धडकन हुन्छ
सत्य सत्य नै हुन्छ सधै ।
सत्य
संगलो र कञ्चन हुन्छ पानी झै
पारदर्शी हुन्छ सिसा झै
पवित्र, पौष्टिक हुन्छ
आमाको दुध जस्तै ।
सत्यलाई नचलाऊ
सत्य छ जीवन छ
सत्यले जोडेको जीवन अभिन्न छ
सत्य छैन जीवन छिन्न भिन्न छ
मन मतिष्क खिन्न छ ।
सत्य त्यो
अवोध बालापन हो
चर्म चक्षुको स्पर्शले
बुझने भाषा हो ।
जहाँ तिमी त्यहा सत्य
जहाँ सत्य त्यहा तिमी
तिमीभित्र छ सत्य
मभित्र छ सत्य
हामी सवैभित्र छ सत्य
त्यसैले पवित्र छ सत्य ।
आऔ सत्य अगालो
सत्य जगाऊ
सत्य बचाऔ ।
तिमी हामी सबै
आफन्त र छरछिमेकी
सवैको जन्मदिमा
सत्यको पनि जन्म दिन मनाऔ
खुसीयाली साटौ
किनकी
तिमी, हामी सबै जन्मदा
सत्य पनि जन्मेको हो ।

खडक बोहरा  (बझाङ, हाल मार्तडी बाजुरा )