दोलखामा काँग्रेस-एमाले झडप हुँदा ११ जना घाइते,आठ राउण्ड गोली प्रहार

606
views

चरिकोट ३१, बैशाख । दोलखामा काँग्रेस र एमालेका कार्यकर्ता वीच भडप हुँदा ११ जना घाइते भएका छन । झडपमा काँग्रेसका नौ जना र एमालेका दुई जना घाइते भएका हुन । काँग्रेस र एमालेका कार्यकर्ताको भडपलाई सामान्य बनाउन प्रहरीले आठ राउण्ड गोली चलाएको छ।
बैतेश्वर गाउँपालिकाको वडा नम्बर २ मा एमालेका कार्यकर्ताको खुकुरी प्रहारबाट आठ जना काँग्रेस कार्यकर्ता घाइते भएका छन । गम्भीर घाइते एक जनालाई थप उपचारका लागि चरिकोटस्थित जिल्ला अस्पताल पुरयाइएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर २ मा एमाले कार्यकर्ताको खुकुरी प्रहारबाट काँग्रेस कार्यकर्ता अच्युत कार्की गम्भीर घाइते भएका छन । काँग्रेसका कार्यकर्ताको कुटपिटबाट दुई जना एमाले कार्यकर्ता घाइते भएका छन ।
तामाकोशी गाउँपालिका वडा नम्बर ५ स्थित सहरेमा प्रहरीले गोली चलाउँदा महिला लिला खडका घाइते भएकी छन । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराका अनुसार तनावलाई नियन्त्रणमा लिन हवाइ फायर गरिएको हो । सहरेमा मतदान स्थगित भएको छ ।
मतदानलाई पुन सञ्चालनमा ल्याउन मतदान अधिकृत र राजनीतिक दलहरु वीच छलफल भइरहेको छ। दोलखाका अन्य ठाउँमा भने शान्तिपूर्ण मतदान भइरहेको छ। एमाले र माओवादीको वीच झडप भएको जुगुमा पनि शान्तिपूर्ण निर्वाचन भइरहेको छ ।अपडेट
दोलखाको मेलुङ गाउपालिकाको पोवटी मतदान केन्द्रमा प्रहरीको गोली लागेर नकुल भुजेलको मृत्यु भएको छ । घटनामा काँग्रेस कार्यकर्ता सुर्यप्रसाद न्यौपानेको टाउकोमा गम्भीर चोट लागेको छ । देलखामा काँग्रेस र एमाले कार्यकर्ता वीच विवाद हुँदा झडप भएको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु परेको थियो ।
प्रहरीले गोली चलाएपछि काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ता मतदानकेन्द्र छोडेर हिडेका छन । घटनापछि सो मतदान केन्द्रमा मतदान स्थगित भएको छ । मेलुङमा काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन छ भने एमाले एकल चुनावी प्रतिस्पर्धामा छ ।