पाँच महिनापछि नेकपा स्थायी कमिटीको बैठक बस्दै

653
views

काठमाडौँ, २९, मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा सचिवालयले प्रस्तुत गर्ने ‘एजेन्डा’माथि छलफल हुने भएको छ । यसअघि विभिन्न चरणमा बसेको सचिवालय बैठकले गरेका निर्णयहरुलाई समेत राखेर बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तयारी भइरहेको छ । झण्डै पाँच महिनापछि नेकपा स्थायी कमिटीको बैठक आज बस्दै  छ ।

प्रतिवेदनमा सचिवालयले गरेका निर्णय, सरकारले गरेका काम कारवाही, पार्टी एकीकरणका लागि भएका कार्यहरु, सङ्गठन निर्माण लगायतका विषय रहेका छन् ।

गत असार २१ गतेपछि विभिन्न कारणले स्थायी समितिको बैठक बस्न नसकेपनि सो समितिले गर्ने कार्यहरु केन्द्रीय सचिवालयमार्फत गर्दै आइरहेको थियो । प्रधानमन्त्री ओली तथा अन्य शीर्ष नेताहरुको कार्य व्यस्तताका कारण बैठक स्थगित हुँदै आइरहेको थियो ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकको एजेन्डाबारे स्थायी कमिटीका सदस्यहरुलाई औपचारिक जानकारी गराइएको छैन । स्थायी कमिटीका सदस्य पम्फा भुसालले बैठकमा के के विषयमा छलफल हुने हो त्यसबारे अहिलेसम्म कुनै जानकारी नआएको बताईन् ।

पछिल्लो समय पार्टीमा देखिएको आन्तरिक विवादका विषयमा मुख्य एजेन्डा बन्नसक्ने बताइएको छ । सरकारको काम कारबाही र पार्टी एकताको विषयमा नेताहरुको बीचमा असन्तुष्टिहरु देखिएका छन् ।

नेकपाका अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठनको १० महिनामा सरकारले थुप्रै कामहरु गरेको छ । यो १० महिनामा समृद्ध नेपालको जग बसाउने काम गरेको दाबी गरिदैँ आएको छ । यो बैठकमा यी सरकार र पार्टीका काम कारवाहीमा गम्भीर विमर्श हुने नेताहरूको विश्वास छ ।