श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजिनामा दिए

640
views

एजेन्सी । श्रीलंकाका विवादास्पद प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन् । राजापाक्षेको यो निर्णयले केही हप्ताको राजनीतिक संकट टुंग्याउने संकेत देखिएको छ ।

कोलम्बोस्थित आफ्नै निवासमा आज उनले आफ्ना समर्थक र पत्रकारको अघिल्तिरै बसेर राजीनामापत्रमा हस्ताक्षर गरेका हुन् । ७३ वर्षे नेता राजापाक्षेले समर्थक तथा पत्रकारलाई सम्बोधन गर्दै मैथ्रिपाला सिरिसेनालाई नयाँ सरकार गठनको लागि बाटो खुला गर्न राजीनामा दिएको बताएका छन् ।

पछिल्लो अक्टोबरदेखि श्रीलंकामा राष्ट्रपति मैथ्रिपाला सिरिसेना र तत्कालिन प्रधानमन्त्री रनिल विक्रमासिंघेबीचको मतभेदका कारण नयाँ किसिमको राजनीतिक संकट उत्पन्न भएको हो ।

सिरिसेनाले प्रधानमन्त्री विक्रमासिंघेलाई अपदस्त गर्दै पूर्वराष्ट्रपति राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । विक्रमासिंघेले भने आफू प्रधानमन्त्रीमा कायम रहेको भन्दै राष्ट्रपतिको कदमविरुद्ध अदालत गएका थिए ।

अदालतले विक्रमासिंघेकै पक्षमा फैसला गरिदिएपछि सिरिसेनाले संसद नै बिघटन गरिदिएका थिए । राजापाक्षेको राजीनामा आएपछि भने यहाँको राजनीतिक संकट सल्टिने अपेक्षा गरिएको छ ।