राजाले चुप्पी साध्नु घातक हो

937
views

-यज्ञ बहादुर थापा
राजा ज्ञानेन्द्र शाहले मौनता साँधेर बसेका छन् । उनको यो चुप्पी सँधाइ अवसरवादी भूमिका पनि हो । यस प्रकारको भूमिकाले न त राष्टको हित हुन सक्छ न त राजा र राजसंस्थाकै हित हुन सक्छ । आखिर घुमाइफिराइ धर्म प्रचारमा लागेको ईशाई मेशिनरीलाई नै सहयोग पुराएको मानिन्छ । अत राजा खुलेर आउनु पर्छ । यो समयको आवश्यक्तालाई राजा ज्ञानेन्द्रले बुझ्नु पर्छ ।

बहुदलीय ब्यबस्थालाई जर्वजस्त प्रवेश गराइएपछि नेपाल आर्थिक रुपमा टाट पल्टदै गयो । शासनमा अस्थिरता पैदा गर्नु र राजसंस्थालाई बदनाम गराउनु यी सबै खेल प्रायोजित थियो । पञ्चायत कालमै पनि राजसंस्थाभित्र सल्लाहकार पनि सोही ढंगले प्रवेश हुँदै गए । तत्कालीन राजशाहले यो कुरो थाहा पाउन सकेन । सल्लाहकारहरुको योजना मुताविक नै तत्कालीन राजतन्त्र जनदमनमा उत्रेको हुनुपर्छ ।

प्रायोजित रुपमा राजसंस्थाप्रति घृणा भाव पैदा गराउन थालियो र २०४६ सालमा नेपाली जनताको उत्कृष्ट चाहना र इच्छा विरुद्ध शसक्त आन्दोलन वा संघर्ष विना नै विदेशीको दबाबमा बहुदलीय ब्यबस्था भित्राइयो । यो नै नेपालको इतिहासमा कालो वर्ष बनेर आयो । बाम साँप र कालो साँप अपवित्र गठजोडको हुँकारफुँकार गराउदै आइयो भने यो कार्य नेपाली आकाशमा यद्यपि मडारिंदै छ । बहुदलीय ब्यवस्थाको यस्तै अस्थिरतामा पुन अर्को नाटक मञ्चन भयो जनयुद्व । कम्युनिष्टहरु धर्म अफिम हो भन्दै हिंड्ने सर्वहारा वर्गको अगुवाको नारा दिने नेपालकोे साना साना टुक्रामा रहेका विभाजित मनस्थितिका पार्टीहरुलाई एकीकृत गराई जनयुद्धको लाईन अनुमोदन गर्न लगायो । विभिन्न जात धर्ममा रहेका विविध साँस्कृतिक एकतालाई जातीय राज्य दिने नाउँमा खल्बलाउने र दीर्घकालीन अराजकता फैलाउने काम शुरु भयो । जसको कारण नेपाल आर्थिक रुपमा थिलो थिलो पर्न गयो । हिन्दू धर्मका विरुद्ध अफवाह फैलाउदै नेपाल आमाको छातीमा कुल्चन लगाइयो । नेपालको राष्ट्रिय एकताको धरोहर राजसंस्था र विश्वबीच परिचित हिन्दू राष्ट्र नेपालको राष्ट्रिय गौरव सदाको लागि हटाउन दुष्प्रयास गरियो । यसरी नेपाल आज एशियाको माझमा अफ्रिकी ईशाई बन्दै छ । अब छिटैका दिनमा नेपालको ताला चाबि विदेशी ईशाईको हातमा पुगिसकेको र हाम्रो हातमा वाइवलको पुस्तक मात्रै रहेको पाउनै छौं ।

नेपालको वर्तमान यो कहालीलाग्दो अवस्थामा राजा ज्ञानेन्द्र शाह निर्मल निवासबाट निस्कदै गर्दा हजारौ हजार नेपालीले भव्य स्वागत गर्नू तर स्पष्ट कार्यदिशा नदिनु यो कदम ज्ञानेन्द्र शाहको प्रत्युत्पादक बन्न सक्छ । राष्टकै लागि मात्र घातक होइन उनको आफ्नै लागि पनि घातक सिद्ध हुन्छ । या त उनी निस्कंदै गर्दा गुपचुमै होस् या त आम जनतासंग एकाकार भएर आफ्ना समर्थकहरुबीच राजतन्त्र वा राजसंस्था आजको अनिवार्य आवश्यक्ता भनेर पोइन्ट टु पोइन्ट जनता माझ राख्न जरुरी छ । संघीयताले देशलाई कंगाल बनाएर विदेशीको हात थाप्न या त सम्पूर्ण युवाशक्ति पलायन गराएर नेपालको प्रचुर प्राकृतिक स्रोत र सम्पदा उनै विदेशीलाई सुम्पिदिने अवस्था सृजना भएको छ ।

नेपाली जनताको इच्छा चाहना मुताविक चल्ने राजसंस्था वा सभ्य र शालिन राजतन्त्र विषयमा अब राजाले मुख फोर्नै पर्छ । नेपाली जनताले आफै स्थापित गरिदेलान भन्ने दिवा स्वप्ना पनि बोक्नु पर्दैन । यो सोचाई अवसरवादी रोल हो । जनता विकल्प खोजिरहन्छ जसरी आज पुन यो शासन र संघीयताको विरुद्धमा राजशासनतर्फ आर्कषित भइरहेछ । भ्रष्टाचार मौलाई रहेको छ, जताततै विकृति र विसंगति छ । १३ वर्षै निर्मलाले न्याय पाउँदिनन् । हत्या लुटपाटले पञ्चायती व्यबस्थालाई उछिनेको छ । लुटतन्त्र बढीरहेको छ, कसले कति लुट्ने होडबाजी चलिरहेको छ । भ्रष्टाचार निदान गर्नै नीति पद्धतिको विकास र निकास अनिवार्य छ । यसमा राजा चनाखो हुन जरुरी छ । साम्यवादी र समाजवादी भनिएका दूई देश वीचका हामी नेपालीको बेग्लै उच्च पहिचान जरुरी छ । यो मूलत राजसंस्था वा राजतन्त्र के ? निश्चित गर्नुपर्छ ।

हजारँौ भुरे टाकुरा वादशाहहरुलाई पाल्ने ल्याकत नेपाली जनतामा छैन । त्यो पनि विदेशी रेमिटेन्सले । आज नेपाली जनता अभिभावक विहिन टुहुरा बनेको महशुस हुन थालेको छ । अभिभावकको विकल्प भनेको राजा पनि हुन सक्छ अत स्पष्ट नीति योजनाका साथ ज्ञानेन्द्र शाह वास्तविक धरातलमा आउनु पर्यो । सारहिन स्वागतले कुनै अर्थ राख्दैन यो कुरा ज्ञानेन्द्र शाहले राम्रैसंग बुझुन् । समय ढिला नगरी हस्तक्षेपकारी भूमिकामा आउन स्वागत छ अन्यथा न बजे बाँसुरी न रहे बाँस भने झै न त राजा नै रहलान् न त दिगो राष्ट्रियता नै रहला । यसतर्फ सचेत नागरिकको ध्यान आर्कषण होस् ।

लेखकः अधिवक्ता हुन ।