चितवनको गुञ्जनगरमा कृषि हाटबजार सञ्चालनमा

730
views

चितवन,६ पुस चितवनको भरतपुर महानगरपालिका–१८, गुञ्जनगर राईगञ्जमा साप्ताहिक कृषि हाटबजार विहिबार देखी सञ्चालनमा आएको छ । हाटबजार व्यवस्थापन तथा सञ्चालन समितिले सञ्चालन गरेको उक्त हाटबजारमा स्थानीयको कृषि उत्पादन खरिद बिक्री हुने गरेको छ ।

हाटबजारको उद्घाटन गर्दै भरतपुर महानगरपालिका–१८, का वडाध्यक्ष दिपक लामाले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने यस्ता कृषि हाटबजारले कृषकहरुलाई उत्साहित बनाएको बताउँदै हाटबजारले कृषि क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले हाटबजारले समृद्ध भरतपुर (१८को विकास र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने बताए ।
हाटबजार व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष आशराम तामाङले हाटबजार प्रत्येक विहिबार हप्ताको एकपटक सञ्चालन गरिने बताउँदै हाटबजारले कृषि उपजको प्राथमिकीकरण र छरिएर रहेका जनशक्तिहरुलाई आयमूलक कार्यमा लाग्न प्रोत्साहन दिने बताए ।
गाउँमा नै उत्पादित कृषि वस्तुहरुलाई हाटबजारले बजारीकरण गरी स्थानीयको आयआर्जन र जीविकोपार्जनमा सहज हुने गुञ्जनगर व्यवस्थापन समितिका सचिब आनन्द ढकालले बताए । कृषकहरुले उत्पादन गरेका तरकारी, च्याउ, अचार तथा खानाहरुका साथै दुग्धजन्य परिकारहरुसँगै लत्ताकपडा एवम् स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति हाटबजारको थप आकर्षण रहेको ढकालले जानकारी दिए ।
कार्यक्रममा समाजसेवी बिष्णु ढकाल,शहिद स्मृति टोलबिकास सस्थाका अध्यक्ष भिमसेन राउत, गुञ्जनगर मा.बी. का प्रधानअध्यापक सुर्यभक्त वाग्ले,दलित महिला सदस्य सरिता नेपाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।