घारका किसानहरुले बनाए ‘मिनी कोल्डस्टोर’

1839
views

ठाकुरप्रसाद आचार्य
बेनी, १६, पुस । उत्तरी अन्नपूर्ण गाउँपालिका ६ घारका कृषकहरुले सुन्तला भण्डारका लागि कोल्डस्टोर (शितभण्डार) निर्माण गरेका छन् । बिरौटा बहुउद्देश्यीय कृषक समुहले गाउँमा शितभण्डार निर्माण गरेको हो । तत्कालिन जिल्ला कृषि विकास कार्यालयको पाँचलाख अनुदान र कृषकहरुको एकलाख ४२ हजार रुपियाँ बराबरको श्रमदानमा शितभण्डार निर्माण गरिएको हो ।

समुहमा आवद्ध ३३ जना कृषकहरुले उत्पादन गरेको सुन्तला भण्डारण गर्ने गरिएको छ । यहाँ पाँच हजार केजी सुन्तला भण्डार गर्न सकिन्छ । सुन्तलालाई भण्डार गरी बेमौसममा विक्री वितरण गर्नका लागि शितभण्डार निर्माण गरिएको बिरौटा बहुउद्देश्यीय कृषक समुहका सचिव ठाकुरप्रसाद बरुवालले बरुवालले बताउनुभयो ।

घारमा सुन्तलाको व्यवसायिक खेती सुरु गरिएकाले पनि शितभण्डारको आवश्यकता भएको उहाँले बताउनुभयो । मंसिर पुसमा विक्री नभएको सुन्तला बैशाख जेठमा विक्री गर्नका लागि कृषकहरुले शितभण्डारमा सुन्तला राख्ने गरेका छन् । शितभण्डारमा राखिएको सुन्तला घोडेपानी र पुनहिलको भ्रमणमा आउने पर्यटकहरुलाई विक्री गरिन्छ । शितभण्डारमा राखिएको सुन्तलाको स्वादमा कुनै कमि नआउने र राम्रो मुल्य पनि विक्री हुने भएपछि कृषकहरु उत्साहित भएका छन् । अहिले पचास रुपियाँमा विक्री हुने सुन्तला बैशाख जेठमा एकसय पचास रुपियाँ सम्म विक्री हुने गरेको बिरौटा बहुउद्देश्यीय कृषक समुहका सचिव बरुवालले बताउनुभयो । यहाँ विगत तिन वर्ष देखि कृषकहरुले सुन्तला भण्डारण गर्ने गरेका छन् । सुरु सुरुमा कृषकहरुले विश्वास गरेनन् बुझाउन समस्या भयो सचिव बरुवालले भन्नुभयो,“अहिले सुन्तला भण्डारण गर्न कृषकहरुका विच प्रतिस्पर्धा नै छ ।” शितभण्डारको क्षमता बढाउन सम्बन्धित निकायले सहयोग गरेमा कृषकलाई राहत मिल्ने उहाँको भनाई छ ।

यस अघि मङ्सिर पुसमा न्यून मूल्यमा सुन्तला बिक्री गर्नुपर्ने बाध्यता थियो । शितभण्डार निर्माण भएपछि कृषकलाई राहत पुगेको विष्णुदेवी बरुवालले बताउनुभयो । भूमिगत रुपमा बनाइएको शितभण्डारमा ¥याक राखेर सुन्तलालाई सुरक्षित रुपमा राख्ने व्यवस्था मिलाइएको छ । शित भण्डारको अवलोकनमा पुग्नुभएका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या. डमबहादुर गर्बुजा पुनले सुन्तलाको व्यवसायिक खेती विस्तारका लागि गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । शितभण्डारको क्षमता बढाउन आगमी आर्थिक वर्षमा गाउँपालिकाबाट बजेट विनियोजन गरिने बताउनुभयो ।