लागुऔषध सहित एक महिला पक्राउ

1258
views

सिताराम थापा
बाग्लुङ, २०, पुस । जिल्ला प्रहरी कार्यालय बाग्लुङले ठूलो परिमाणको लागुऔषध सहित एक महिलालाई पक्राउ गरेको छ । जमिनमुनी लुकाएर राखेको लागू औषध प्रहरीले बरामद गरेको हो । बागलुङ नगरपालिका–१३ पैयुँपाटा घर भई हाल बानपा–४ उपल्लोचौरमा विजय खाजाघर सञ्चालन गर्दै आएकी ४३ बर्षिय शान्तिदेवी कुँवरको घरबाट प्रहरीले ठुलो परिमाणमा लागू औषध बरामद गरेको हो ।

कुँवरले खाजाघर पछाडीको खाली जमिनमुनि लागुऔष्ध लुकाईछिपाई राखेको अवस्थामा भेटीएको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा रहेकी अभियुक्त कुँवरले देखाएको जमिनमा उत्खनन् गर्दा प्लाष्टिकको बोरामा प्लाष्टिकको डिब्बा भित्र २ मिलि लेखिएका डाईजेपाम १०५, फेनार्गन १०५, नुर्फिन १०५ र एम्पुल १०५ प्रहरीले बरामद गरेको छ ।

कुँवरले बानपा–४ उपल्लाचौर स्थित नेपाली सेनाको २३ नं बाहिनी अड्डा नजिकै होटल बिजय खाजाघर सञ्चालन गरेकी छिन् । कुँवरले खाजाघरमा अवैध लागु औषध (डाइजेपाम, फेनार्गन र नुर्फिन) लुकाई छिपाई राखी विक्री वितरण गर्ने र तत्काल पैसा तिर्न नसक्ने लागुऔषध प्रयोगकर्ताहरुको सामान जफत गरि राख्ने गरेको नुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

लागु औषध प्रयोगकर्ताको मोबाईल, ल्यापटप लगायतका ईलोक्ट्रनिक सामाग्री धितो राखी लागु औषध दिने गरेका भन्ने विशेष सुराकीको आधारमा कुँवरलाई पौष १४ गते प्रहरी निरीक्षक परशुराम मल्लको कमाण्डमा गएको टोलीले खानतलासी एवं पक्राउ गरेको थियो ।

प्रयोगकर्ताले २ एमएल लेखिएको डाइजेपाम, फेनार्गन र नुर्फिन २ र २ एम्पुल र लागुऔषध प्रयोगकर्ताहरुले धितो राखेको विभिन्न ब्राण्डका मोबाईलहरु समेत फेला परेको थियो ।
लागु औषधसँगै पाँचवटा स्यामसुङ मोबाईल, एकवटा कलर्स मोबाईल, एकवटा नोकिया मोबाईल, एकवटा डाईमण्ड मोबाईल, एकवटा सोलार पावर बैँक, एकवटा आईफोन, एकवटा इन्टेल लेखिएको ट्याब, एकथान एसर ल्यापटप समेत फेला परेको थियो ।

अभियुक्त कुँवरले मात्र यति ठुलो परिमाणमा अवैध लागु औषधको कारोबार गर्न नसक्ने भन्दै अवैध कारोबारमा थप अरुको संलग्नता रहेको हुन सक्ने प्रहरी उपरीक्षक दिपक रेग्मीले बताए ।