बाङ्गेचौरमा प्यारापिट, दर्शकलाई सुविद्या

1082
views

बागलुङ, २० पुस । बागलुङ नगरपालिका–१ मा रहेको बाङ्गेचौर खेल मैदानमा प्यारापिट निर्माण शुरु भएको छ । फलामबाट बन्ने प्यारापिट ५४० दर्शक क्षमताको बन्दै छ । १६ लाख रुपैयाँमा जिल्ला फुटबल सङ्घ बागलुङले प्यारापिट बनाउन लागेको हो ।

मैदानमा प्यारापिटसँगै ३० जना बस्न मिल्ने मञ्च, ३० मिटर लम्बाइ, ६ मिटर चौडाइ र ६ फिट उचाइको प्यारापिट ३ तहको हुनेछ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले रु १० लाख उपलब्ध गराएको छ । रु छ लाख अन्यत्रबाट सहयोग जुटाउने संघकाा अध्यक्ष रामराज गुरुङले बताए ।

प्यारापिट नहुँदा फुटबललगायतका प्रतियोगिता कि भूइँमा बसेर कि उभिएर हेर्न दर्शक बाध्य थिए । अब ठूला प्रतियोगिता हुँदा टिकटमा दर्शक राख्न सकिने संघले जनाएको छ ।

गण्डकी प्रदेशस्तरीय मेयर कप फुटबल प्रतियोगिता गत माघमा बाङ्गेचौरमै भएको थियो । यो वर्ष पनि प्रतियोगिता सञ्चालनको तयारी छ ।

जिल्ला खेलकूद विकास समितिले दुई वर्षअघि मैदान सम्याउने र तारबारको काम गरेको थियो । राष्ट्रियस्तरको रङ्गशालाको रुपमा विकास गर्न समिति र बागलुङ नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को तयारी अघि बढाएका छन् ।