आहारा नपुगेपछि धमाधम मौरी मरे

1198
views

खलङ्गा, २०, पुस । जुम्लामा उत्पादन हुने गरेको ‘एपी सेराना’ जातको मौरी धमाधम मरेपछि विशेषज्ञले आहारा नपुगेको प्रमाणित गरेका छन् । व्यावसायिक रुपमा पालिएका मौरी मर्न थालेपछि किसानले अनुसन्धान गर्न माग गरेका थिए ।

किसानले स्थानीय सरोकारवाला निकायलाई यसको तथ्य पत्ता लगाउन अपिल गरेपछि जुम्लामा मौरी नष्ट हुनुको कारण तथा समस्या पत्ता लगाउन आएको मौरी विशेषज्ञ टोलीले उक्त निष्कर्ष निकालेको हो ।

कृषि विभागका सहदेवप्रसाद हुमागाईं, मौरी विकास केन्द्र गोदावरीका प्रमुख तीर्थकुमार श्रेष्ठको टोलीले जुम्लामा मौरी किसानको बारी तथा अवस्थाका बारेमा अवलोकन गरेको पछि सो अनुसन्धान गरेको हो ।

कृषि विभाग व्यावसायिक कीट विकास केन्द्रका निमित्त प्रमुख हुमागाईंले तत्काल चरन क्षेत्र कम र आहारा नपुग्ने भएकाले मौरी घट्दै गएको अनुसन्धानपछि आयोजित अन्तरक्रिया कार्यक्रममा बताए ।

मौरी विकास केन्द्र गोदावारीका प्रमुख तीर्थकुमार श्रेष्ठले चरन क्षेत्र निकै कम भएकाले नष्ट भएको हुन सक्ने बताए ।

किसान रामकृष्ण बुढ्थापाले दुईवटा मौरीको घारबाट एक सय बढी घार भएकाले यस वर्ष २५ लाख रुपियाँभन्दा बढी आम्दानी हुने आशा निराशामा परिणत भएको बताए ।

किसान नारायण चौलागाईंले १५ वटा मौरीका घारबाट मरेर पाँचवटा मात्रै रहेको बताए ।