युएईका जेलमा दुईसय नेपाली

592
views

सचिन्द्र श्रेष्ठ
युएई, २४, पुष । युएईको राजधानी अबुधाबी स्थित नेपाली दूतावासले २०७५ सालको जेल भ्रमण पूरा गरि जेलजीवन बिताउन बाध्य भएका नेपालीहरुको तथ्यांक सार्बजनिक गरेको छ । राजधानी अबुधाबि स्थित नेपाली दूतावासले हरेक ६ र ६ महिनाको अवधिमा गर्दै आएको जेल भ्रमणलाई यसपटक पनि निरंतरता दिएको हो ।

नेपाली दूतावासले २०७४ असारमा युएईको सातवटा राज्यमा रहेका ८ वटा जेलहरुको भ्रमण गरेको थियो । त्यतिबेला जम्मा १०९ जनाले कैद भुक्तान गरिरहेको पाईएको थियो । ती मध्ये अधिकांश मदिरा सेवन गरि झैझगडामा संलग्न भएर जेल परेको देखिएको थियो ।

कार्यवाहक राजदुत सागरप्रसाद फुयाँलको नेतृत्वमा २०७५ बैशाखमा गरिएको जेल भ्रमणका बेला १२ जना महिला र १७३ जना पुरुष गरि जम्मा १८५ जना नेपालीले कैद भुक्तान गरिरहेको पाईएको थियो । त्यतिबेला पनि मदिरा सेवनगरि झै झगडामा संलग्न नेपालीहरुको संख्या अधिक रहेको पाईएको थियो ।

दूतावासले यसपटक गत डिसेम्बर महिनामा युएईका सातवटा राज्यमा रहेका ८ वटा जेलको भ्रमण पूरा गरि नेपालीहरुको अवस्था बुझेको छ । जसमा १२ महिला र १ सय ८८ जना पुरुषले जेल जीवन बिताउदै आएको तथ्यांकले देखाएको छ ।

जेल भ्रमणका क्रममा सारजाह जेलमा १० ,दुबईको अल अविर स्थित सेन्ट्रल जेलमा ६८, अल अथ्वा सेन्ट्रल जेलमा ९८, अजमान सेन्ट्रल जेलमा ४, रसअलखेमा सेन्ट्रल जेलमा ४, फुजेरा सेन्ट्रल जेलमा २ र अल एन सेन्ट्रल जेलमा १४ नेपाली रहेका छन् भने यसपटक उमअल क्विन सेन्ट्रल जेलमा नेपाली नरहेको दूतावासले जनाएको छ ।

नेपाली दुतावासले जेलमा रहेका नेपालीहरुको अवस्था र मुद्दाको स्थिति अध्ययन गरि कुटनैतिक तवरबाट समस्या समाधानको पहल गर्न नियमित रूपमा जेल भ्रमण गर्दै आएको छ । २०७१ सालमा गरिएको जेल भ्रमणमा युएईको जेलमा जम्मा ५७ जना नेपाली कैदि रहेकोमा उक्त संख्या बढेर २०७५ सालमा आउदा २०० जना पुगेको छ । जसमा सबैभन्दा धेरै नेपाली १ सय १६ जना मदिरा सेवन र झैझगडाको कारण जेल परेको दूतावासद्वारा जारी तथ्यांकमा उल्लेख छ ।