डेरी आयोजनामा चीनको ३२ अर्ब सहयोग

564
views

काठमाडौं,०१, वैशाख । नेपालको डेरी क्षेत्रमा कायापलट गर्न चीन सरकारको सहयोगमा मेघा आयोजना सञ्चालनमा आउन लागेको छ । चीन सरकारको स्वामित्वको कृषि यन्त्रीकरण विज्ञान प्रतिष्ठान (केम्स) को आर्थिक सहयोगमा ‘नेपालमा डेरीको विकासमार्फत ग्रामीण गरिबी निवारण’ आयोजना सञ्चालनमा आउन लागेको हो । चीनले पहिलोपटक यो आयोजनामार्फत नेपालको कृषि र पशुपन्छी क्षेत्रमा ठूलो लगानी गर्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष आग्रहमा चीनको केम्सले यो आयोजना सञ्चालनमा ल्याउन लागेको हो । चीनको अन्तर्रा्ष्ट्रिय व्यापार प्रवद्र्धन काउन्सिलको आयोजनामा गत कात्तिक ११ गते सम्पन्न भएको नेपालमा लगानीको सम्भावना विषयक सम्मेलनमा प्रधानमन्त्री दाहालले नेपालको कृषि क्षेत्रमा लगानी लगाउन चीन सरकारसँग आग्रह गरेका थिए । सोही आग्रहअनुसार केम्सका अध्यक्ष वाङ वोले उक्त आयोजना सञ्चालनमा ल्याउने घोषणा गरेको हुन् ।
केम्सले डेरी क्षेत्रमा केन्द्रित हुने गरी तीन वर्षका लागि आयोजना कार्यान्वयनमा ल्याउँदैछ । दुई चरणमा सञ्चालन हुने कार्यक्रमका लागि करिब ३२ अर्ब रुपैयाँ छुट्टयाइएको छ । यसअनुसार पहिलो चरणमा १७ अर्ब ९६ करोड र दोस्रो चरणमा १४ अर्ब तीन करोड ९८ लाख रुपैयाँ लगानी गरिनेछ । सरकार सहकारी निजी साझेदारी अवधारणा अन्तर्गत २७ वटा जिल्लामा स्रोत केन्द्र स्थापना गरी यो आयोजना सञ्चालनमा आउन लागेको छ । केम्सका प्रबन्धक जेरी याङका अनुसार इलाम, झापा, मोरङ, उदयपुर, महोत्तरी, दोलखा, रामेछाप, सिन्धुली, बारा, मकवानपुर, चितवन, नुवाकोट, गोरखामा स्रोत केन्द्र स्थापना हुनेछ ।
यसैगरी लम्जुङ, तनहुँ, कास्की, रोल्पा, रुकुम, जुम्ला, रूपन्देही, दाङ, बाँके, सल्यान, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेल्धुरामा पनि स्रोत केन्द्र स्थापना गरिनेछ । चीन सरकारले यो आयोजनाको सञ्चालनको जिम्मेवारी राष्ट्रिय दुग्ध विकास बोर्डलाई दिएको छ । आयोजनामार्फत ३० हजार जनालाई रोजगारी उपलब्ध गराउने योजना पनि छ । आयोजनाले बाछी जन्माउनेदेखि दूध उत्पादन, दूध प्रशोधन, पाउडर दूध उत्पादनका साथै घाँसमा आधारित दाना कारखाना र मल उत्पादनसम्मको काम स्वचालित उपकरण र अत्याधुनिक कारखानाको सहयोगमा गर्ने योजना तयार पारेको छ ।