डेढ करोड रकम हिनामिना गरी लेखा अधिकृत फरार

2010
views

चितवन, २५, पुस २५ गते । जिल्ला मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी एक करोड ७१ लाख रुपैयाँ हिनामिना गरी फरार भएका छन् ।

दर्जी मङ्सिर २५ गतेदेखि नै सम्र्पकविहिन भएको कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेलले बताए । आन्तरिक लेखा परीक्षण (आलेप) का क्रममा रकम बेरुजु देखिएपछि दर्जी फरार भएको जनाइउको छ ।

गत आर्थिक वर्षको लेखा परीक्षण गर्दा उनको नाममा देखिएको एक करोड ७१ लाख बेरुजु जग्गा रजिष्ट्रेशनको रकम बैंकमा दाखिला नगरी आफैँले प्रयोग गरेका थिए । मङ्सिर ६ गते आलेपले रकम दाखिलाको पत्र पठाएको थियो । पाँच पटकसम्म पत्र काटे पनि दर्जीले अटेर गरेका थिए ।

मङ्सिर २० गते आन्तरिक लेखा परीक्षकले २४ घण्टाभित्र नै रकम दाखिला गर्न पत्र दिएको तर, दर्जीले कार्यालयमा आएर सबै पैसा आफैँले खर्च गरेको र तिर्न नसकेको खण्डमा कानूनअनुसार जस्तोसुकै कारवाही भोग्न पनि तयार छु भनेर सनाखत गरेर गएको कार्यालय प्रमुख पौडेलले बताए ।

पौडेलका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक सम्पूर्ण कागजात झिकाएर अनुसन्धान गरिरहेको छ । दर्जीका सबैै बैंक खाता रोक्का गर्न लगाइएको छ ।

भरतपुर महानगरपालिका–१० मा रहेको सप्तगण्डकी डिपार्टमेन्ट स्टोर्समा दर्जीको पनि साझेदारी रहेको खुलेपछि सोको कारोवार रोक्का गरिएको छ ।