पृथ्वीनारायण शाहको शालिक ढाल्नेले माफी माग्नुपर्छ

1139
views

-रिना खनाल
सर्वप्रथम त नेपाल र नेपाली भनेर चिनाउने राष्ट्र निर्माताप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । साथै देश बनाउन सहयोग गरेकाप्रति पनि सम्झना गर्न चाहन्छु । टुक्रे राज्यहरुमा विभाजित नेपाललाई एउटा सिंगो राज्य बनाउनमा उनको योगदान उच्च छ । उनको सम्मान र सम्झना गर्नु प्रत्येक नेपालीको कर्तव्य हो ।

यद्यपि लोकतन्त्र प्राप्तिपछि सरकारले औपचारिक रुपमा यो दिवस मनाउन छाडेको छ । तर नागरिक स्तरमा भने यस दिवसप्रति विशेष लगाव छ । त्यसैले सरकारमै रहेको दल एवम् नागरिकस्तरमा विभिन्न कार्यक्रम गरि यो दिवस मनाउने गरिएको छ ।

नेपाललाई अहिलेको अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका पृथ्वीनारायण शाहलाई धेरैले राष्ट्र निर्माता भनेर सम्झन्छन् । पृथ्वीनारायण शाहका दिव्यउपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् । यी दिव्य उपदेश पढ्दा उनी दुर्लभ र दूरदर्शी राजा थिए भन्ने प्रस्ट हुन्छ । आजको दिनमा पृथ्वीनारायण शाहको सम्झनामा शिर झुकाउनेहरु पनि होलान् , शिर उठाउनेहरु पनि होलान्, धेरै ठाउँमा मान्छे पिच्छे फरक फरक कुरा होलान् । देशका विभिन्न स्थानमा नागरिक प्रयासबाट स्मृति सभाहरु आयोजना पनि गरिएका छन् । यस्ता कार्य गर्नु कुनै विरासत, राजावादी वा राजाको गुनगान होइन । पृथ्वीनारायण ऐतिहासिक धरोहर हुन् । नेपाली राष्ट्र जीवनका अमूल्य निधि हुन् ।

युद्धको क्रममा कसैको नाक काटिए होला, कसैको औला काटिए होलान्, कसैको हात काटिए होलान् कसैको खुट्टा । यसलाई ठूलो मुद्दा बनाएर पृथ्वीको सम्मान गर्दिन भन्नु गलत हो । सम्झौं न, १० बर्षे सशस्त्र द्वन्द्वमा कति घाइते भएका थिए, कति मारिएका थिए । कति त अक्षम्य अपराध पनि गरेका थिए । ती घटना गराउनहरु नै आज अग्रनायक भएका छन् । कोही प्रधानमन्त्री, मन्त्री भएर देश चलाए । उनै पृथ्वीनारायणले बनाएको नेपालमा राज गरे । तर आफ्ना राष्ट्र निर्मातालाई बिर्सेर कम्युनिष्ट भएकोमा गर्व गर्ने गरेका छन् ।

पृथ्वी आफू र उनका सहयोगी हुन आएकाहरुले अत्यन्त दुःखपूर्वक खडा गरेको राज्यलाई बलियो र सशक्त राष्ट्रका रुपमा देख्न चाहन्थे । त्यही जगमा उभिएको हो हाम्रो स्वतन्त्रता । यसलाई कसैले नकार्न सक्दैन ।

म आफू ऐतिहासिक अर्थात् पृथ्वीनारायणको कर्मभूमि, सांस्कृतिक तथा पर्यटकीय स्थल नुवाकोटमा जन्मेको नाताले यो भूमिप्रति हमेशा ऋणी छु र रहन्छु । मेरो समाजले कहिले पनि हामीलाई पृथ्वीनारायणले हराएको हो त्यसकारणले हामी पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउदैनौँ कहिल्यै सुनेको छैन । झन उल्लासमय तरिकाले नागरिक मूल समारोह स्थापित गरी स्थानीय तथा विभिन्न संघसस्थाहरु मिलेर मनाइने गरिएको छ । पृथ्वीनारायण शाहले नुवाकोट विजय पश्चात २५ बर्ष नेपालको राजधानी बनाई सम्पूर्ण प्रशासनिक कार्य गरेको स्थल पनि हो ।

म आज नेपाली छु त पृथ्बीनारायण शाहको योगदानले, यो राष्ट्र नेपालका रुपमा एकीकृत भएकाले हो । सानासाना राज्यहरुलाई एकै सूत्रमा नगाँसेको भए दक्षिणी फिरिङ्गीहरुले कति लान्थे , उत्तरतिर कति लान्थे ? त्यसैले पृथ्वीनारायण शाहलाई बारम्बार सम्झिरहँदा देशभक्ति अरु बढ्छ, कम हुँदैन । हामी बीचको भाइचारा, देश प्रेम तथा भौगोलिक एकताको शान, मान, माया अझ बढ्नुपर्छ, टुट्नु हुँदैन ।

आज उही राष्ट्रका रचनाकार पृथ्बीनारायण शाहले छोडेर गएको लालपूर्जाले नै आज नेपाल र नेपाली भन्न पाएका छौँ । जसले विश्वको ४४ औँ ठूलो राष्ट्र बनाउन अभिप्रेरित गरे । पृथ्वीनारायण शाहका शालिक जसले ढाले तिनले सार्वजनिक रुपमा नेपाल र नेपालीसँग क्षमा माग्नुपर्छ, आफैंसँग माग्नुपर्छ । होइन भने तिनले शालिक बनाउदा साथ दिनुपर्छ ।

पृथ्वीनारायण शाहले नुवाकोटमै बसेर दिव्यउपदेश दिएका थिए । परराष्ट्र नीति, घरेलु नीति, सुशासन आदि राज्य संचालनका बारेमा मार्ग निर्देश गरेका र उनका उपदेशले अझसम्म पनि हाम्रो पथ प्रदर्शन गरिरहेका छन् । उनले यो मुलुक मैले मात्र बनाएको होइन सबैको साथ सहयोगमा निर्माण गरेको भनेका छन् । त्यस्तै उत्तर र दक्षिणमा ठूला राज्यहरु छन् , दुई ढुङ्गा बिचको तरुल हो । यी दुईसंग मित्रवत सम्बन्ध कायम गर्नु । त्यस्तै प्रजा मोटा भया राजे बलियो हुन्छ भन्ने सार्वकालिक महत्वको उद्घोष गरेर उनले हरेक समयका राजनीतिज्ञहरुका लागि एउटा अकाट्य मन्त्र दिएका छन् । जनहित नै राज्यको हित हो र लोकतन्त्रको मर्म पनि यही हो । राज्य संचालनको क्रममा आफू मात्र बलियो भएर पुग्दैन, राज्यका प्रजा मोटा हुनुपर्छ । लोक बलशाली, शक्तिशाली हुनुपर्छ ।

लमजुन् भन्याको गरुड हो, गोर्षा भन्याको सरप हो नेपाल भन्याको भ्यागुतो हो ।
मेरा साना दुषले आज्र्याको मुलुक होइन, सबै जात को फुलबारी हो,
सबैलाई चेतना भया !!