प्रहरीकै अगाडी अबैध कारोवार हुन्छ–मल्ल

प्रहरी संघ मातहतमा चल्यो स्थानीय सरकारलाई टेरेन

1036
views

पर्वत । जलजला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्ल (रामकृष्ण) ले प्रहरीले स्थानीय निकायको कुनैपनि कुरा नमान्दा समस्या उत्पन्न भएको बताएका छन् । मल्लले सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रहरीकै अगाडी ठुलाठूला अवैध कारोवार भइरहेको तर नियन्त्रण गर्न लगाएपनि प्रहरीले असहयोग गरेको बताए ।

मल्लले कानूनको पालना नहुँदा स्थानीय सरकारलाई प्रहरीबाटै असहयोग भएको बताए । एकातिर उनले कानून कार्यान्वयनको अन्यौलता, अर्कोतिर स्थानीय सरकारले नगर प्रहरी भर्ना गर्न नसक्ने अवस्था हुँदा बारम्बार काममा अवरोध सिर्जना भएको बताए ।

उनले अवैध रुपमा भइरहेका थुप्रै कार्यहरुमा प्रहरीले असयोग गरेको भन्दै संघ मार्फत चल्ने प्रहरीले स्थानीय सरकार मार्फत चल्न नसक्ने भनेर अटेर गर्दा समस्या उत्पन्न भएको बताए ।

उनले कालिगण्डकी नदीमा दर्ता नगरिएका क्रसरहरुले नदिजन्य पदार्थको उत्खनन् बढाएको तर, त्यसमा रोकथाम गर्न खोज्दा प्रहरीले नै अवरोध गरेको बताए । मल्लले भने ‘पर्वत प्रहरीलाई धेरैपटक हार गुहार गर्यौं तर, प्रहरीले स्थानीय सरकारका कुनै पनि काम गर्न चाहेन् ।’

संविधान र स्थानीय सरकारको मर्मविपरीत शान्ति सुरक्षा जस्ता संवेदनशिल विषयमा प्रहरीले अवरोध गर्दा केन्द्रिय निकाय सम्म समस्या उजागारसँगै आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको बताए ।

स्थानीय सरकारलाई कानूनी अडचन भई काम गर्न कठिनाई भैरहेका बेला प्रहरी समेतले असयोग गर्दा विकास लगायतका धेरै कुराहरुमा समस्या सिर्जना भएको स्थानीय सरकारले जनाएका छन् ।