महिला टि–२० क्रिकेटः थाइल्याण्डलाई पराजित गर्दै नेपाल समूह विजेता

554
views

काठमाडौं – थाइल्याण्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा लगातार चार खेल जितेर नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।

प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा बुधबार घरेलु टोली थाइल्याण्ड ‘ए’ लाई ९ विकेटले पराजित रेको हो । बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा घरेलु टोलीले दिएको २० रनको सामान्य लक्ष्य नेपालले १ विकेट गुमाएर ३.३ ओभरमा पूरा गर्यो ।

नेपालका लागि ममताकुमारी चौधरीले ८ रन बनाउँदा नेरी थापा ५ र डोली भट्टले २ रनमा अविजित रहे । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली थाइल्याण्ड १९ रनमा समेटिएको थियो । समूह ‘ए’ बाट संयुक्त अरब इमिरेट्स (युएइ) समूह उपविजेताका रूपमा यसअघि नै सेमिफाइनलमा पुगेको छ । नेपालले पहिलो खेलमा चीनलाई, दोस्रो खेलमा मलेसियालाई र तेस्रो खेलमा यूएइलाई पराजित गरेको थियो ।

रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोलीमा सीता रानामगर (उपकप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी र विन्दु रावल छन् ।