प्रधानमन्त्री प्रचण्डले राजपाका नेतालाई जेठ पहिलोसाता राजीनामा दिने संकेत दिए

614
views

काठमाडौँ, १, जेठ । पहिलो चरणको स्थानीय तहको निर्वाचन गराउन सफल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेठको पहिलो साता राजीनामा दिने राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुलाई जानकारी गराएका छन् ।
आज बालुवाटारमा राजपा नेपालका नेताहरुसँग भएको छलफलमा प्रचण्डले आफूले आफ्नो कार्यभार पूरा गरि जेठको ५–६ गते राजीनामा दिने भनेको राजपा नेपालका एक नेताले बताए । काँग्रेससँग भएको सहमति अनुसार आफूले सरकारबाट राजीनामा दिएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र सहमति पालनाको नयाँ अध्याय आफूले शुरुवात गर्ने समेत नेतासमक्ष राखेको बताइएको छ । दलहरुको बीचमा सहमति भएपनि सरकार छाड्ने बेला अनेक बहानाहरु हुने गरेको परिवेशमा त्यसलाई आफूले तोडेको प्रचण्डको भनार्य थियो ।
गठबन्धनको निरन्तरता
एमालेले जुन प्रकारको राष्ट्रियताको नारा लगाएका छन् त्यसले देशलाई हित नगर्ने भएकाले चुनावमा परास्त गर्नका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने कुरा छलफलमा राखेको बताइएको छ ।
अरु दिनको तुलनामा अलि थकित तर कामबाट फूर्सद पाएको जस्तो देखिने प्रधानमन्त्री प्रचण्डले काँग्रेस–माओवादी गठबन्धनलाई लामो समयसम्म लैजाने संकेत गरेको राजपाका एक नेताले बताए । प्रदेश तथा केन्द्रको चुनाव यही गठबन्धनले गराउने भन्दै प्रधानमन्त्री प्रचण्डले राजपालाई पनि यसै गठबन्धनमा सहभागि हुन आग्रह गरे ।
‘संविधान संशोधनपछि तपाईहरु पनि यस गठबन्धनमा सहभागी हुनुहोस्, काँग्रेस–माओवादी–राजपा नेपालको गठबन्धनलाई लामोसमयसम्म टिकाउन सकिए मात्र नेपालले उपलब्धि पाउने छ,’ प्रधानमन्त्री प्रचण्डको आग्रह एक नेतालाई सुनाए ।