भारतले मिचेको सिमामा विप्लव माओवादीले लगायो काँडेतार

822
views

चितवन, माघ ८ भारतसँग सीमा जोडिएको चितवन माडीको सोमेश्वरगढी सीमा क्षेत्रमा विप्लव माओवादीले आज काँडे तार लगाएको छ ।

पार्टी केन्द्रीय सदस्य तथा फ्याक्सन इन्चार्ज कृष्ण अधिकारीको नेतृत्वमा गएको अखिल (क्रान्तिकारी) को टोलीले करिब ३० मिटर सिमानामा काँडे तार लगाएको हो । १९५० देखि अगाडि र पछाडिका भारतसँग भएका सबै सम्झौंताहरु खारेजीको माग गर्दै टिस्टादेखि काँगडासम्म सीमा व्यवस्थित गराउन विप्लव माओवादीले माग गरेको छ । राष्ट्रियता र जनताको जनजीविकाको पक्षमा विप्लव माओवादीले आवाज उठाउँदै आएको भन्दै केन्द्रीय सदस्य कृष्ण अधिकारीले नेपालको सीमा रक्षाको लागि जस्तोसुकै बलिदानी दिन पनि तयार रहेको बताए । माडी नगरपालिका–५ सोमेश्वर गढीको ४५ नम्बर पिल्लरमा काँडेतार लगाएर सीमा रक्षाको सुरुवात गरिएको अखिल –क्रान्तिकारी) केन्द्रीय महासचिव प्रकाश शाहीले बताए ।
विप्लव माओवादी माडी नगरपालिकाका इन्चार्ज टीका न्यौपानेले नेपाल भारत सीमा सोमेश्वर क्षेत्रको दश गजामा सीमा मिचेका कारण काँडे तार लगाएको बताइन् । देशभरका सीमाना मिचिइरहेको बेला सांकेतिक विरोधस्वरुप ३० मिटर सीमानामा काँडे तार लगाइएको उनले बताइन् । ‘२५ वर्ष पहिले नाचनचुरी डाँडा हाम्रो नेपालको भूभाग थियो’ उनले भनिन्, ‘ हाम्रो सीमा अहिले विस्तारै तल झरेको छ ।’ पछिल्लो समय सो क्षेत्रमा नेपालीहरुको आवतजावत बढे पनि भारतीयको हस्तक्षेप भने नरोकिएको उनले बताइन् ।