दुई प्रहरी जवान निलम्बनमा

1440
views

सिताराम थापा
बागलुङ, १०, माघ । सामान्य भनाभनको कारण गल्कोट नगरपालिका–६हरिचौर बर्ष ४० को सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ ।

गएको पौष २९ गते इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान बुद्ध थापा र प्रेमसिंह बिष्टले सामान्य भनाभन भई बस्नेतलाई विनाकारण गंभिर कुटपिट गरेका थिए । कुटपिटले गंभिर घाईते भएपछि स्थानिय नागरिक समाज, राजनीतिक दल मानव अधिकारकर्मी लगायतले कडा कारबाहिको माग गर्दै बिभिन्न दबाबमुलक कार्यक्रमहरु गरेका थिए ।

घटनाको अनुसन्धानको लागि राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशबाट अनुसन्धान अधिकृत ज्योति प्रसाद घिमिरे र मनेहन बस्नेत पोखराबाट आई जनता र सरोकारवाला समक्ष अनुसन्धान गरि प्रहरी दोषी भएको सुझाब दिईएको थियो ।

माग अनुसार विभागीय कारबाहीका लागि दुवै जवानलाई निलम्बन गरिएको बागलुङका प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । दुवै प्रहरी जवानलाई हरिचौर इलाका प्रहरी कार्यालयमा राखि अनुसन्धान गरिरहेको थियो ।

कुटपिटमा संलग्न प्रहरी जवानहरुले उपचार्थ बस्नेतको उपचार खर्च ब्यहोरी रहेको पनि रेग्मिले बताए । गंभिर घाईते बस्नेतको गण्डकी प्रदेश राजधानी पोखरा फेवासिटी अस्पतालमा आईसियु कक्षमा राखि उपचार भइरहेको बताईएको छ ।

प्रहरीले जवानहरुले लात र लट्ठिले हिर्काउँदा बस्नेतको पेट र फोक्सोमा ठूलो चोट परेकाले फियो समेत शल्यक्रिया गरेर दुई लिटर भन्दा बढी रगत चढाउनु परेको चिकित्सकको भनाई रहेको छ ।

जटिल शल्यक्रिया पछि पेटमा ५२ भन्दा बढी टाँका लगाइएको उपचारमा संलग्न डा. सुरेश पौडेलले बताए ।