भारतका पूर्व रक्षामन्त्री जर्ज फर्नान्डिसको निधन

642
views

भारतका पूर्व रक्षामन्त्री जर्ज फर्नान्डिसको निधन भएको छ । समता पार्टीका संस्थापक रहेका फर्ना्न्डिस ८८ वर्षका थिए । आज (मंगलबार) विहान भारतको राजधानी दिल्लीमा उनको निधन भएको हो । बताइएअनुसार लामो समयदेखि बिमार रहेका उनी केही दिनदेखि स्वाइन फ्लुबाट समेत पीडित रहेका थिए ।

सन् १९७४ मा रेलवेम्यान फेडरेसनका प्रमुख रहेका बेला ऐतिहासिक रेल हडताल गराएर खास चर्चामा आएका फर्ना्न्डिस बिहारको मुजफ्फरपुरबाट चारपटक सांसद रहेका थिए भने तत्कालीन वीपी सिंह सरकारमा रेलवे मन्त्री बनेका उनले एनडीए सरकारमा दुईपटक भारतको रक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए । बहुचर्चित कारगिल लडाइँ उनकै कार्यकालमा भएको थियो ।

१९९८ मा एनडीएको गठनमा अहम् भूमिका निर्वाह गरेका फर्ना्न्डिस अटलविहारी बाजपाईको प्रधानमन्त्रीत्वकालमा रक्षामन्त्री रहेका थिए । उनी सन् १९३० जुनमा एक इसाई परिवारमा जन्मेका थिए ।