विश्व भ्रमण यात्री नेपालमा

892
views

काठमाडौं, १६ माघ । डेनमार्कका तोरोवर्जोन सी पेडरर्सन थोर विश्वयात्राका क्रममा आज नेपाल आइपुगेका छन् । उनका लागि नेपाल १ सय ७९ औ भ्रमण मुलुक हो । कुनैपनि उडान नगरी स्थल र जलमार्गको प्रयोगबाट विश्व भ्रमण सकेर नयाँ इतिहास बनाउने क्रममा उनी नेपाल आएका हुन् ।

डेनिस रेडक्रसको सद्भावना दुतको रुपमा नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा कुराकानी गर्दै उनले भने ‘विश्वमा मानिस र मानवताको खास अर्थ फैलाउने मेरो उद्देश्य छ । विश्वको जुनसुकै कुनामा सुरक्षा, शिक्षा, आवास, भोजनलगायतको समस्या छ र आम रुपले मानिसहरुमा समानता मैले देखेको छु ।’

नेपाल भ्रमणको क्रममा उनले विश्व सम्पदा सूचीमा रहेका दरबार क्षेत्रहरुको अवलोकन गर्नुका साथै नेपाल रेडक्रसले सञ्चालन गरेको हटलाईन –११३० कल सेन्टर तथा विपद् व्यवस्थापन आपत्कालीन केन्द्रको पनि निरिक्षण गरेको नेपाल रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

थोरले राष्ट्रिय रक्त सञ्चार सेवा केन्द्र बालकुमारीमा रक्तदान समेत गरेका छन् । “मानिसहरुको नशामा उस्तै प्रकारको रगत बगिरहेको छ र खुशी तथा सन्तुष्टि पाउने एउटा राम्रो तरीका रक्तदान हो ।” थोरको भनाई थियो ।

थोरले २ लाख ४३ हजार किलोमिटर पार गरिसकेका छन् । सन् २०१३ बाट सुरुभएको यो अनवरत यात्राको क्रममा संसारका २०० वढी मुलुकको भ्रमण नसकी घर नफर्किने उनको योजना रहेको छ । सन् २०२० मा उनको भ्रमण सकिने अनुमान छ ।