मेरो माइक्रोफाइनान्सको अर्धवार्षिक समीक्षा

686
views

नुवाकोट । नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आ.व.२०७५/७६ को अर्धवार्षिक कार्यक्रम समीक्षा गरेको छ । साथै कार्यालय प्रमुख स्तरीय नेतृत्व विकास तथा उत्प्रेरण गोष्ठी समेत गरेको छ ।

कास्कीको पोखरामा सम्पन्न भएको उक्त गोष्ठीको समुद्घाटन संस्थाका सञ्चालक बद्री प्रसाद पुडासैनी, प्रमुख कार्यकारी अधिकृत र मनोक्रान्तिको अध्येता डा. योगी विकासानन्दले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

दुइदिनसम्म भएको गोष्ठीमा चालु आ. व. को अर्धवार्षिक प्रगति समीक्षा तथा गुणस्तरीय ग्राहक सेवा सहितको कार्यक्रम र रणनीतिहरु सम्बन्धमा छलफल भएको थियो । गोष्ठीमा डा. योगी विकासानन्द र मोटिभेशन स्पिकर सुदीप बस्नेतले कर्मचारीलाई उत्प्रेरणा दिएका थिए ।

कार्यक्रममा १० वटै अनुगमन कार्यालय अन्तर्गतका उत्कृष्ट शाखा कार्यालयहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी रिलायबल नेपाल लाइफ इन्सुरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत अगम मुखियाले जीवन बीमा सेवा दिने उत्कृष्ट १० शाखा कार्यालयलाई सम्मान गरेका थिए ।

ग्राहकमुखी सेवा र कर्मचारी मैत्री प्रशासनको नीति अनुरुप संस्थाले आगामी दिनमा अझ मजबुत सेवा दिनुपर्ने बताउँदै प्रमुख कार्यकारी अधिकृत दाहालले सबै कर्मचारीहरुलाई आफू खुशी र सन्तुष्ट रहेमा मात्र ग्राहक सन्तुष्टि सहितको सेवा दिन सकिने कुरामा जोड दिए ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम देशका वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा शाखा खोली सेवा दिँदै जाने, सेवाग्राहीहरुलाई लघुबीमा सहितको पूर्ण लघुवित्तीय सेवा दिँदै जाने र सो का लागि कर्मचारी क्षमता अभिबृद्धिका थप कार्यक्रमहरु समेत गर्दै जाने कार्यक्रम रहेको दाहालले बताए ।

कार्यक्रममा योजना तथा अनुगमन विभाग प्रमुख राजु प्रसाद पुडासैनीले अर्धवार्षिक कार्यक्रम समीक्षा सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी अनुगमन अधिकृत तथा शाखा प्रबन्धकहरुले कार्यक्रम प्रगति, शाखा व्यवस्थापन सम्बन्धी सवालहरुका साथै आगामी दिनमा निक्षेप, कर्जा र व्यवसाय बिस्तार सम्बन्धमा योजना प्रस्तुत गरेका थिए ।

संस्थाले हालसम्म देशका विभिन्न ४८ जिल्लाहरुमा ८६ वटा शाखा कार्यालयहरु मार्फत ८७ हजार विपन्न परिवारहरुलाई लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।

उक्त गोष्ठीमा संस्थाका केन्द्रीय कार्यालयका कर्मचारीहरु लगायत अनुगमन र शाखा कार्यालयका प्रमुखहरु गरी करीब १२० जनाको उपस्थिति रहेको थियो ।