भेनेजुएलाको पक्षमा उभिएको भन्दै सांसदको आपत्ति

678
views

काठमाडौं– नेपाली कांग्रेसका सांसदले सरकार खुलेरै भेनेजुएलाको पक्षमा उभिएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै सांसद पार्वती डिसी चौधरीले नेपालसँग कुनै साइनो र सम्बन्ध नभएको भेनेजुएलाको पक्षमा नेकपा अध्यक्ष पुष्पकमल दाहालको विज्ञप्ति, सोही विज्ञप्तिलाई नेकपाले सदर गर्नु र सरकारको धारणा पनि सोही आशयको आउनुले नेपाली जनतालाई के फाइदा हुन्छ भनी प्रश्न गरिन् ।

स्वतन्त्र सांसद प्रेम सुवालले भेनेजुएलाबारे सरकारको स्पष्ट धारणा माग गरे । उनले यसबारे संसदमा पनि छलफल हुनुपर्ने माग गरे ।

कांग्रेस सचेतक पुष्पा भुसालले निर्मला पन्त हत्याका अपराधी सरकारको वरीपरी घुमेको आरोप लगाउँदै अपराधीलाई सरकारले संरक्षण दिएको आरोप लगाइन् । उनले १६ वर्ष मुनिका बालिकाको बलात्कार घटनामा फाँसीको सजाय हुनुपर्ने माग गरिन ।

सांसद डिला संग्रौलाले आर्थिक सूचकांक नकारात्मक रहेको भन्दै समृद्ध नेपाल सुखी नेपाली सरकारले कसरी बनाउन सक्छ भनी प्रश्न गरिन ।