युवती हत्या गर्ने युवकलाई ३० वर्ष कैद

825
views

सीताराम थापा
म्याग्दी जिल्ला अदालतले सात महीनाअघि कालिगण्डकी नदिमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र रु एकलाख जरिवाना गर्ने फैसला गरेको छ ।

बेनी नगरपालिका वार्ड नं.–९ बस्ने ३१ वर्षीय इन्द्रबहादुर खड्काले अन्नपूर्ण गाउँपालिका–७ घराम्दीकी २० वर्षीया सविता नेपालीको अपहरण गरी गाडी कालीगण्डकी नदिमा खसालेर हत्या गरेको ठहर गर्दै उक्त अदालतले सर्वस्वसहित जन्मकैद र जरिवानाको फैसला गरेको हो ।

जिल्ला न्यायाधीश राजकुमार कोइरालाको इजलासले आज सर्वस्वसहित २० वर्षको कैद, अपहरण तथा शरीर बन्धक बनाएकामा आठ वर्ष र पीडा दिएकामा थप दुई वर्ष गरी ३० वर्ष कैद सजाय गर्ने फैसला सुनाएको श्रेष्तेदार खिलप्रसाद बुर्लाकोटीले जानकारी दिए । खड्कालाई रु एक लाख जरिवाना र अपहरण अवधिको दैनिक रु पाँच सयका दरले थप जरिवाना तिराउने फैसलासमेत भएको थियो ।

गएको असार १४ गते लु.२.च. २४५४ को जिपमा सवार घराम्दीकी नेपालीलाई बेनी–जोमसोम सडक अन्तर्गत तिप्ल्याङ खण्डको सडकबाट कालीगण्डकी नदिमा खसालेर बेपत्ता भएका चालक खड्का सात दिनपछि असार २० गते आफैँ पोखराबाट प्रहरीको सम्पर्कमा आएका थिए ।

कालीगण्डकीमा बेपत्ता भनि खा्जिएका चालक जीवितै फेला परेपछि सविताकी आमा राधिकाले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले खड्काविरुद्ध कर्तव्य ज्यान, अपहरण मुद्दा चलाएको थियो ।

निजले घराम्दीमा भएको भेलामा अविवाहित सविताको पेटमा रहेको गर्भ आफ्नो भएको स्वीकार गरेर आफूले जिम्मा लिने प्रतिबद्धता जनाउँदै अपहरणको शैलीमा गाडीमा हालेर भागेका खड्काले गाडीसहित नदिमा खसालेर उनको हत्या गरेको आरोपमा मुद्दा चलाइएको थियो ।

सविताकी काकी बिष्णु दमैले भतिजीलाई गुमाउनुपरे पनि अदालतको फैसलाबाट न्याय पाएको महसुस गरेको बताइन् । खड्कालाई हिजो बुधबार साँझ जिल्ला कारागार चलान गरिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले बताए ।