भारतविरुद्ध नेपालको ऐतिहासिक जित

698
views

काठमाडौं, २९, माघ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतविरुद्ध ऐतिहासिक जित हात पारेको छ । भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकप महिला फुटबलमा नेपालले घरेलु टोली भारतमाथि २–१ को जित हात पारेको हो ।

कालिंगा रंगशालामा हिजो साँझ भएको खेलमा नेपालका लागि दुवै गोल सावित्री भण्डारीले पहिलो हाफमै गरेकी हुन् । पाँचौ मिनेटमै भण्डारीले गोल गर्दै अग्रता दिलाएकी थिइन् । त्यसको दुई मिनेटपछि भण्डारीले नै नेपालका लागि अर्को गोल गर्दै खेललाई २–० को स्थितिमा पु¥याइन् । खेलको अन्त्यतिर अर्थात् ८४ औं मिनेटमा भारतकी रत्नबाला देवीले एक गोल फर्काइन् ।

भारतको सिनियर टोलीविरुद्ध नेपालले पहिलो जित निकालेको हो । नेपाल र भारतबीच अहिलेसम्म ९ पटक प्रतिस्पर्धा भएकामा सात खेलमा भारत विजयी भएको थियो भने एक खेल बराबरीमा टुंगिएको थियो ।

हिरो गोल्डकपमा चार टिम सहभागी छन् । प्रतियोगितामा नेपालले पहिलो जित निकालेको हो । पहिलो खेलमा नेपाल म्यानमारसँग ३–० ले पराजित भएको थियो । फाइनल पुग्न नेपालले बुधबार हुने समूह चरणको अन्तिम खेलमा इरानलाई हराउनै पर्नेछ भने भारत र म्यानमारले कम्तीमा बराबरी खेल्नुपर्ने छ । म्यानमारले भारतलाई पराजित गरेमा पनि नेपालको फाइनल यात्रा पक्का हुनेछ ।