किन आयोजना गर्दैछ भियतनामले ट्रम–किम बैठक ?

830
views

कम्युनिष्ट सत्ता भए पनि पूँजीवादी अर्थतन्त्र रहेको भियतनालाई अहिले वाशिङटन र प्योङयाङ दुवैले एउटा मित्र मान्ने गरेका छन् ।

अस्ट्रेलियाको युनिभर्सिटी अफ साउथ वेल्सका भियतनाम विज्ञ कार्ल थाएरका अनुसार त्यो एउटा तटस्थ आयोजकको रूपमा मानिएको छ र उसले आवश्यक सबै कुरा अमेरिका तथा उत्तर कोरियाबाट अनुमोदन गराएको छ ।

प्राध्यापक थाएरले भने “भियतनामले गर्ने ट्रम्प–किम सम्मेलन स्थलको छनोट प्रतीकात्मक मात्र छैन । सम्मेलनका निम्ति उच्च सुरक्षाको वातावरण उपलब्ध गराउन सक्ने क्षमताको सबै पक्षले प्रशंसा गरेकाले भियतनाम छनोट भएको हो। सबै पक्षले भियतनाम तटस्थ आयोजक भएको ठान्छन् ।“

किमले भियतनाम स्वीकार गर्नुको कारण
किमका निम्ति चिनियाँ आकाश हुँदै भियतनामको उडान सुरक्षित छ। प्योङयाङको राम्रो सम्बन्ध रहेका थोरैमा ती दुवै देश पर्छन् ।

प्राध्यापक थायरका बुझाइमा उत्तर कोरियाली नेताले आफ्नो पहिलो भियतनाम भ्रमणलाई उत्तर कोरिया उपेक्षित नरहेको प्रमाणित गर्ने अवसरका रूपमा लिएका छन् ।

उत्तर कोरियाली नेताले भियतनामको विकास ढाँचाको अध्ययन गरेका छन् र भ्रमणले किमलाई आफैँले देशको रुपान्तरण हेर्ने अवसर दिने छ ।

थायर भन्छन्, “भियतनामको इतिहासमा अमेरिकाविरुद्धको युद्ध र कूटनीतिक सम्बन्धमा आएको सुधार, स्वतन्त्र व्यापार सम्झौता आदि सबै उत्तर कोरियाली सत्ताका निम्ति चासोका विषय हुन् ।“

सिंगापुरको युसोफ इशाक इन्स्टिच्युटसम्बद्ध भियतनाम विज्ञ ले होङ हिएपले भने, “किम आफ्नै निम्ति भियतनामको कथा हेर्न इच्छुक हुनसक्छन् । उत्तर कोरियालाई अगाडि लग्ने बाटोबारे धारणा बनाउन उनको निम्ति त्यो राम्रो प्रेरणाको स्रोत र प्रतिबिम्व हुनसक्छ ।“

ट्रमले भियतनाम स्वीकार गर्नुको कारण
यदि किम भियतनामको आर्थिक सफलताबाट प्रभावित हुनसकेमा त्यसले वाशिङटनको पक्षमा योगदान दिन सक्छ ।

‘समाजवाद उन्मूख बजार अर्थतन्त्र’ सिर्जना गर्ने लक्ष्यका साथ सन् १९८६ मा आर्थिक सुधार थालिएदेखि भियतनाम एसियाकै तीव्र आर्थिक विकास गर्ने देशहरूमध्ये परेको छ ।

गत वर्ष भियतनाम भ्रमणका क्रममा विदेशमन्त्री माइक पोम्पेओले यदि अवसर छोप्न सक्ने हो भने किमले उत्तर कोरियामा चमत्कार देखाउन सक्ने बताएका थिए । एशिया प्यासिफिक इकोनोमिक कोअपरेशन समीटका क्रममा ट्रम्पले सन् २०१७ मा भियतनामको भ्रमण गरेका थिए ।

प्राध्यापक थायरका अनुसार भियतनामले सहज अवस्था महसुस गरेको छ। उनी भन्छन्, “भियतनामको लामो समयदेखि सामूहिक विनाश गर्न सक्ने हतियारमाथिको प्रतिबन्ध र उत्तर कोरियाविरुद्धको राष्ट्रसंघीय प्रतिबन्ध कार्यान्वयनमा दिएको साथप्रति अमेरिका अनुग्रही छ ।“

किम र ट्रम्प दुवैले भियतनामलाई मित्र शक्ति र तटस्थ आयोजकको रूपमा हेरेका छन् । अमेरिका–उत्तर कोरिया ऐतिहासिक सम्मेलन त्यसबेला हुँदैछ, जब देशी विदेशी लगानी र ध्यान आकर्षित गर्न आफूसँग भएको कूटनीतिक सम्भावना प्रदर्शन गर्न इच्छुक छ ।

घोषणा लगत्तै दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयले पनि भियतनाम छनोटको स्वागत गरेको छ । “कुनै बेला भियतनामले अमेरिकाविरुद्ध तरवार र बन्दुकको प्रदर्शन गरेको थियो तर अहिले उनीहरू मित्र छन् ।“, प्रवक्तालाई उद्धृत गर्दै समाचार संस्था योनहापले लेखेको छ, “नयाँ इतिहास बनाउन अमेरिका र उत्तर कोरियाका निम्ति भियतनाम एउटा राम्रो स्थान हुनेछ भन्ने हाम्रो आशा छ ।“ बीबीसीबाट