टीकापुर महोत्सवमा एक करोड कारोवार

729
views

लम्की, २९ माघ । टीकापुर महोत्सवमा एक करोड रुपयाँ बराबरको कारोवार भएको छ । ‘औद्योगिक, सांस्कुतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना, समृद्ध सुदुरपश्चिमको परिकल्पना’ नाराका साथ ११ दिनसम्म चलेको सो महोत्सवमा रु २७ लाख ६३ हजारको टिकट बिक्री भएको थियो ।

महोत्सव आयोजक स्टल व्यवस्थापन उपसमितिका संयोजक गणेश रेग्मीका अनुसार महोत्सवमा दुई सय कक्ष रहेको थियो । उक्त महोत्सवको एक लाख ५० हजार व्यक्तिले अवलोकन गरेका थिए । उद्योग वाणिज्य सङ्घ टीकापुरका अध्यक्ष परशुराम चपाईंले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न १० कक्ष निःशुल्क उपलब्ध गराइएको बताउनुभयो । महोत्सवमा कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, थारू गाउँ र मगर गाउँ मुख्य आकर्षणका रुपमा रहेका थिए ।

थारू गाउँ र मगर गाउँमा आ–आफ्ना संस्कृति र खानाका परिकार झल्कने वस्तु राखिएका थिए । माघ १८ गतेदेखि शुरु भएको महोत्सव आज सकिँदै छ । महोत्सवको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उद्घाटन गर्नुभएको थियो । उद्योग वाणिज्य सङ्घ टीकापुरले २०६५ सालदेखि महोत्सव आयोजना गर्दै आएको छ ।