बाघले तीनवटा बाख्रा खायो

2076
views

पर्वत । फलेवास नगरपालिका–४ मा बुधबार बाघले तीनवटा बाख्रा खाएको छ । उन्नत जातका दुईवटा माऊ र एउटा बोको बाघले खाएको हो । वडा नं ४ को र्शिसुवामा विनिता गौडेलले पालेका बाख्रा कटेरामा बाँधेकै अवस्थामा मारेको थियो । बाघले मान्छेलाई नै नटेरेको स्थानीयले बताएका छन् ।

गौडेलका वेयाउनी दुईवटा माऊ र बोको गरी झण्डै ४२ हजार रुपैयाँ बराबरको क्षति पुर्याएको छ । बाघले बाख्रा मारेपछि स्थानीयमा सन्त्रास फैलिएको छ ।

घरवरपर भएको बाक्लो जंगलका कारण बाघ सोही क्षेत्रमा लुकिछिपी रहेको स्थानीयले बताएका छन् । स्थानीयको खोरमा राती बाघले खोस्रेको स्थानीय अर्जुन क्षेत्रीले बताए । क्षेत्रीले भने ‘पछिल्लो समय वाघले आतंकित पारेको छ, पशु जनावरलाई हानेको वाघले मान्छे, विद्यार्थीलाई पनि आक्रमण गर्ने हो कि भन्ने त्रास छ ।’

वाघले सताएपछि स्थानीयले जिल्ला वन कार्यालय पर्वतमा क्षतिपूर्ति माग गर्ने सिलसिलामा मुचुल्का समेत गरेका छन् । यता जिल्ला वन कार्यालयले भने स्थानीयको क्षति ठूलो भएपनि क्षतिपूर्ति स्वरुपको रकम न्यून दिने गरेका छन् ।

वाघले साविकको मुडिकुवामा केही समय अगाडी गाई र बाख्रा मारेको थियो । स्थानीयका अनुसार सो क्षेत्रमा  ठूलो वाघ रहेको छ ।

स्थानीयवासी वसन्त क्षेत्रीका अनुसार एउटै किसानका तीनवटा बाख्रा बाघले मारिदिंदा झण्डै ५० हजारको हाराहारीमा क्षति हुन्छ, तर वन कार्यालयले न्यून रकम दिंदा किसान मर्कामा पर्ने गरेका छन् ।